डडेल्धुरामा कांग्रेस वीपीले जनादेशका आधारमा मतदान गर्ने

dream cafe
learnar
  • राम धामी

डडेल्धुरा : डडेल्धुरामा निर्णायक शक्तिका रुपमा रहेको नेपाली कांग्रेस (वीपी)ले जिल्लाभरका मतदाताहरुसँग अन्तरसम्वाद गरेर प्राप्त जनादेशका आधारमा मतदान गर्ने निर्णय गरेको छ।

GBL NEW

मंगलबारदेखि वीपी कांग्रेसको कार्यालय किशुनजी भवनमा बसेको जिल्ला कार्यसमितिको बैठक तथा अगुवा कार्यकर्ता भेलाले ‘जनता जे भन्छ, वीपी कांग्रेस त्यँहि गर्छ’ विषयक जिल्लाव्यापी अन्तरसम्वाद अभियान सञ्चालन गरेर प्राप्त जनमतका आधारमा कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गरिने जनाएको छ।

बुधबार सम्पन्न बैठकले साताव्यापी अभियान सञ्चालन गरेर राजनीतिक दलमा आवद्ध नभएका तठस्थ मतदाताहरुसँग छलफल अन्तरक्रिया गर्दै प्राप्त सुझाव सल्लाह र अभिमतका आधारमा निर्णय गर्ने निर्णय गरेको वीपी कांग्रेस डडेल्धुराका सभापति भरत नेपालीले जानकारी दिए।

वीपी कांग्रेसका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लको आथित्थतामा सम्पन्न बैठकले जिल्लामा प्रतिष्प्रर्धामा रहेका सबै राजनीतिक दल र उम्मेदवारहरुले सहयोग गर्न आग्रह गरिरहेको र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी नदिएको अवस्थामा कसलाई मतदान गर्ने भन्ने बारेमा जनमत लिएर अघि बढ्ने निर्णय गरेको हो।

सोमबार वीपी कांग्रेसका केन्द्रीय उपसभापति मल्ल डडेल्धुरा पुगेसँगै आफुलाई समर्थन गर्न आग्रह गर्दै जिल्लामा चुनावी प्रतिष्प्रर्धामा होमिएका उम्मेदवार र राजनीतिक दलका नेताहरुको ताँती लाग्न थालेको वीपी कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा मल्लले प्रतिष्प्रर्धा गरेर सात हजार पाँच सय ३५ मत प्राप्त गरेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा तेस्रो शक्तिका रुपमा उदाएको विपी कांग्रेस आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्णायक शक्ति मानिएकाले वीपी कांग्रेसको सहयोग लिन उम्मेदवारहरु प्रयत्नशील छन्।

जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा होमिएका राजनीतिक दल र उम्मेदवारहरुबाट राजनीतिक सहकार्यका लागि आग्रह गरिन थालिएकाले वीपी कांग्रेसले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो।

भेलाले जनमत लिएर मात्रै कसलाई सहयोग गर्ने भन्ने विषयमा ठोस निर्णय लिने प्रस्ताव पारित गरेपछि वीपी कांग्रेस साताव्यापी अन्तरसम्वाद अभियानमा जुटेको छ।

बुधबारदेखि शुरु हुने अभियानका क्रममा जिल्लास्थित नागरिक समाजका अगुवा, वुद्धिजिवी, समाजसेवी, पेशाकर्मी, व्यवसायी, शिक्षक, प्राध्यापकलगायत मतदाताहरुसँग अन्तरसम्वाद गरेर निष्कर्ष निकालिने वीपी कांग्रेसका केन्द्रीय उपसभापति मल्लले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.