तीनदिनमै भरियो उग्रतारा शीत भण्डार, कृषक भन्छन् : क्षमता बढाउनुस्

७१ करोडको फल्यो आलु

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–१ दहमा अवस्थित उग्रतारा शीत भण्डारमा आलुले तीन दिनमै ठाउँ भरिएको छ।

१४ सय ५० मेट्रिक टन (१४ हजार पाँच सय कुन्टल) क्षमताको शीत भण्डारमा बीउ र खायन दुवै प्रकारका आलु भण्डारण गरिएको छ।

GBL NEW

शीत भण्डारका अध्यक्ष भोजराज भट्टका अनुसार असार २ गतेदेखि २९ गतेसम्मका लागि आलु राख्न आग्रह गरिए पनि तीन दिनमै भण्डार भरिएको हो।

‘तीन दिनमै भरिएको छ। यो वर्ष उत्पादन पनि बढेको छ। अझै ५० प्रतिशत कृषक बाहिर छन्,’ उनले भने, ‘अझै कृषकहरू आलु ल्याइरहेका छन्। तर, शीत भण्डार भरिएको छ।’

भट्टका अनुसार शीत भण्डारलाई दुई भागमा व्यवस्थापन गरिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको आलु सुपरजोन कार्यान्वयन इकाइको सहकार्यमा भण्डार पूर्ण रूपमा सञ्चालनमा आएको छ।

आलु सुपरजोन इकाई प्रमुख पिताम्बर बस्नेतका अनुसार यसअघि एक भाग मात्र सञ्चालनमा रहेको शीत भण्डारलाई अब १० लाख रुपैयाँ शीत भण्डार र १० लाख सुपरजोनबाट गरी २० लाखमा पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

‘कोल्ड स्टोरमा आलु राखे बापत किसानलाई प्रतिकिलो दुई रुपैयाँ सुपरजोन र तीन रुपैयाँ कृषि ज्ञान केन्द्र डडेल्धुराबाट अनुदान दिइन्छ,’ बस्नेतले भने।

गन्यापधुरा गाउँपालिका–१ भातकाँडाकी कृषक निर्मला भट्टले शीत भण्डारले बीउ आलु जोगाउन सजिलो भएको बताइन्।

‘घरमा आलु राख्दा पुतला लाग्ने र कुहिने समस्या थियो,’ उनले भनिन्, ‘अझै धेरै किसानले आलु खन्न बाँकी छ। शीत भण्डारको क्षमता विस्तारमा सञ्चालकको ध्यान जानु जरुरी छ।’

शीत भण्डारका अर्का सञ्चालक करन साउदले दक्ष प्राविधिक अभावले समस्याहरू समाधान गर्न कठिन भएको बताए।

‘अहिले पनि फ्यान बिग्रिएको छ। तर, प्राविधिक पाइरहेका छैनौं,’ उनले भने।

शीत भण्डार सञ्चालनका लागि बाटोघाटो, बिजुली र जमिनको प्रयाप्तता भएपनी उपकरण खरिद र मर्मतका लागी आर्थिक अभाव रहेको उग्रतारा शित भण्डार डडेलधुराका संचालक लालमणी पन्तले बताए।

शीत भण्डार सेवामूलक भएकाले यसबाट आम्दानी भन्दापनि किसानहरूलाई सेवा दिएको पन्तले बताए।

७१ करोडको फल्यो आलु

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार यस वर्ष डडेल्धुरामा ७१ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ।

यहाँ बर्खे र हिउँदे गरी दुई सिजनमा आलुखेती हुने गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका तथ्याङ्कअनुसार डडेल्धुरामा बर्खे आलु ४०० हेक्टर र हिउँदे आलु ७२२ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ।

हाल डडेल्धुरामा आलुको फुटकर मूल्य प्रतिकेजी ३० रुपैयाँ र थोक मूल्य २५ रुपैयाँ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.