कैलाली कारागारमा प्वाली मृत्यु प्रकरण : प्रहरीसहित ५ विरुद्ध जाहेरी, दर्ता हुन बाँकी

dream cafe
learnar

डडेल्धुरा : कैलालीको धनगढीस्थित कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको घटनामा पाँच जनाविरुद्ध किटानी जाहेरी परेको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय मृतक हरिश प्वालीकी श्रीमती जानकी साउँदले घटनालाई योजनाबद्ध हत्या भन्दै जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी हुन्।

GBL NEW

जाहेरीमा कैलाली कारागारका जेलर बसन्त बहादुर खत्री, सुरक्षा प्रमुख सई भरत अधिकारी, घटनाका बेला ड्युटीमा रहेकी प्रहरी ईश्वरी पाण्डेय, र जिल्ला प्रहरीमा कार्यरत सिंह थरका एक प्रहरी समेत प्रतिवादी बनाइएका छन्।

तर, प्रहरीले किटानी जाहेरी अहिलेसम्म दर्ता गरेको छैन। मृतकका परिवारले शरीरभरि निलडाम र चोटपटक रहेको जनाउँदै कुटपिट गरी हत्या गरिएको दाबी गरेका छन्।

प्वालीलाई बैंकिङ कसुर अभियोगमा असार १ गते पक्राउ गरिएको थियो।

एक दिनपछि, कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका उनलाई तत्काल सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा असार २ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

यता घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय, कैलालीले सात सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी छन्।

सदस्यहरूमा प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, प्रशासकीय अधिकृत शिवराज जोशी, अनुसन्धान विभागका सई सुरेश बोहरा, सहायक हवल्दार नरेश साउँद, र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट रहेका छन्।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.