
डडेल्धुरा: जनस्वास्थ्य प्रवर्द्धनमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले डडेल्धुरामा सञ्चारकर्मी र स्वास्थ्यकर्मी लक्षित पैरवी कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा बिहीबार जिल्ला सदरमुकाममा उक्त कार्यक्रम आयोजित गरिएको हो।

कार्यक्रममा सञ्चारमार्फत स्वास्थ्य सेवा प्रभावकारिता अभिवृद्धि, स्थानीय तहमा जनचेतना फैलाउने उपाय, र सञ्चारकर्मी–स्वास्थ्यकर्मीबीचको सहकार्यलाई संस्थागत बनाउने विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रमका क्रममा पत्रकारहरुले स्वास्थ्य सेवा सम्बन्धी विविध जिज्ञासा र जनगुनासो प्रस्तुत गरेका थिए।
पत्रकार धनबहादुर भण्डारीले डडेल्धुरा अस्पतालले स्वास्थ्यचौकीबाट प्राप्त औषधि गुणस्तरहीन भन्दै अस्वीकार गरेको र त्यस्तै डडेल्धुरा अस्पतालले दिएको औषधि धनगढीका अस्पतालले अस्वीकार गरेको उदाहरण दिँदै औषधिको गुणस्तर परीक्षण स्वास्थ्य कार्यालयले गर्छ कि नगर्ने ? भन्ने प्रश्न उठाए।
पत्रकार बाबुराम श्रेष्ठले डाक्टरले आफूखुसी औषधि सिफारिस गर्ने प्रवृत्तिले बिरामी जुन औषधि दियो त्यहीँ खान बाध्य रहेको बताए।

नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लास्थित मेडिकल तथा फार्मेसीमा विशेषज्ञ डाक्टरको नाममा शिविर सञ्चालन गरि अनावश्यक औषधि दिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराए।
साथै, उनले सटिक र समयमै जानकारी प्रवाह गर्न मिडियाको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले इन्टरनेशनल ब्रान्डेड औषधिको तुलनामा स्वदेशी औषधि केही कमजोर देखिए पनि त्यसलाई गुणस्तरहीन भन्न नमिल्ने स्पष्ट पारे।
उनले औषधिको गुणस्तर परीक्षण आफैंले गर्न नसकिने भन्दै मिडियाले यस्ता विषयमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए।
उनले मिडियालाई जनस्वास्थ्य प्रवर्द्धनको सशक्त माध्यमका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै भने, “समुदायमा सकारात्मक सन्देश फैलाउन सञ्चारकर्मीको सहयोग अनिवार्य छ। यस्ता कार्यक्रमहरूले समन्वयलाई थप मजबुत बनाउँछन्।”
कार्यक्रममा सञ्चार र स्वास्थ्यको सहकार्य, सामाजिक उत्तरदायित्व र सूचना प्रवाहको सुदृढीकरणबारे जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो।
स्वास्थ्य कार्यालय डडेल्धुराले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सञ्चारको भूमिकालाई अझ व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।


