
काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबिच आज भएको छलफलमा सो निर्णय भएको हो।

बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।

छलफलका क्रममा त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ।
आङ्गिक क्याम्पसलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको छ।
स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल गर्दै चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको हो।
क्याम्पसहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र निर्वाचन सम्पन्न गर्ने, निर्वाचन स्थगित भएमा १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने तथा मन्त्रालय र विश्वविद्यालयबिच सिधा सम्पर्क कायमगरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ।
समकक्षताको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सफ्टवेयरको एकीकरण गर्ने र आवश्यक परे जनशक्ति थप गर्ने साथै विद्यार्थीलाई सुविधाका लागि अनलाइनबाट आवेदन दिन सकिने र कम समयमै प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ।



