किन लाग्यो सशस्त्रको बढुवा प्रक्रियामा जाम ?

काठमाडौं  : सशस्त्र प्रहरीको बढुवा प्रक्रिया रोकिएको छ।

गत भदौदेखि सशस्त्रको बढुवा प्रक्रिया रोकिएसँगै अन्य पदमा समेत बढुवा हुन नसकेको हो।

एसएसपी दीपेन्द्र कुँवरलाई एक नम्बरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा गर्न दबाब आएसँगै सशस्त्रमा बढुवा रोकिएको छ।

एसएसपी कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाईं हुन्।

ब्याच मिचेरै भएपनि कुँवरलाई डीआईजीमा बढुवा गर्न दबाब आएसँगै अन्य अधिकृतको बढुवा महिनौंदेखि रोकिएको छ।

कुँवरलाई भावी महानिरीक्षक (आईजी)मा सुनिश्चित बनाउन चर्को दबाब छ।

तर, सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले ‘थिति बसेको सशस्त्रमा एक व्यक्तिका कारण फेरि बेथिति ल्याउन नदिने’ भन्दै बढुवा प्रक्रिया अगाडि बढाएका छैनन्।

बूढानीलिकण्ठबाट भानुमार्फत कुँवरलाई डीआईजी बढुवा गर्न अर्याललाई दबाब आइरहेको उच्च स्रोत बताउँछ।

सशस्त्र प्रहरी नियमावली, २०७२ नियम २४ को (ख) मा डीआईजी र एसएसपी पदमा नियुक्त गर्ने अधिकार गृहमन्त्रीमा निहीत छ।

आईजीपी अर्यालले डीआईजी बढुवा प्रक्रिया अगाडि बढाउन गृहमन्त्री रमेश लेखकसामू पटकपटक आग्रह गरिसकेका छन्।

उनले गृहसचिव गोकर्णमणि दुवाडीलाई समेत मध्यस्तकर्ता गरिदिन आग्रह गरिसके। तर, भानुको दबाबका कारण गृहमन्त्री लेखकले बढुवा प्रक्रिया पछि धकेल्दै आएका उच्च स्रोत बताउँछ।

सशस्त्रमा गत भदौ १६ देखि दुई डीआईजीको पद रिक्त भएकोमा माघमा थप खाली भएको छ। राजनीतिक हस्तक्षेपकै कारण डीआईजीमा बढुवा प्रक्रिया अगाडि बढ्न नसकेको सशस्त्र मुख्यालय स्रोत बताउँछ।

बढुवा प्रक्रिया अवरुद्ध हुँदा तल्लो तहसम्मकै पदोन्नतिको प्रक्रिया जाम हुन पुगेको छ। यसबाट दर्जनौं सशस्त्र प्रहरी अधिकारी मारमा परेका छन्।

हाल सशस्त्र प्रहरीमा तीन डीआईजी, तीन एसएसपी, १५ एसपी, २५ डीएसपी र ७४ इन्स्पेक्टरको पद रिक्त छ। डीआईजीको बढुवा रोकिँदा रिक्त यी पदमा पदोन्नती हुन सकेको छैन।

मुख्यालयका अनुसार इन्स्पेक्टरमा भर्ना हुँदा कुँवर ७४औं स्थानमा थिए। डीएसपीबाट एसपी बनाउँदा उनलाई १०औं नम्बरमा उकालियो।

एसपीबाट एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा गरियो।कुँवरलाई बढुवा गर्न सरकारले सशस्त्र प्रहरी नियमावली, २०७२ नै संशोधन गरेको थियो।

हाल डीआईजी बढुवामा नेपाल प्रहरीबाट स्थानान्तरण भएका एसएसपी कृष्ण पाठक सबैभन्दा सिनियर हुन्।

उनीपछि सशस्त्र प्रहरीको पहिलो ब्याचकै एसएसपीहरू मनीष थापा र कृष्ण ढकाल छन्।

यो अवस्थामा कुँवरलाई बढुवा गर्न नसकिने जवाफ गृहमन्त्रीले समेत भानुलाई दिइसकेको स्रोत बताउँछ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरीमा डीआईजीको बढुवा प्रक्रिया छिट्टै अगाडि बढ्ने बताए।

गृहमन्त्री लेखकले एसएसी कुँवरलाई एक नम्बरमा बढुवाका लागि आफूलाई कतैबाट दबाब नआएको बताए।

उनी डीआईजी बढुवा नहुँदा तलका बढुवा समेत जाम भएकोबारे आफू जानकार रहेको बताउँछन्।

देउवाका स्वकीय सचिव भानुले भने एसएसपी दीपेन्द्रको बढुवाका लागि आफूले कसैलाई कुनै दबाब नदिएको दाबी गरे।

Leave A Reply

Your email address will not be published.