काठमाडौं : प्रहरीको माथिल्लो तहमा ३० वर्षे सेवावघि हटाएर जागिर लम्ब्याउने प्रयास भइरहँदा तल्लो तहका प्रहरीमा भने निराशा बढ्दो छ ।
पछिल्लो समय राजीनामाको संख्या ह्वात्तै बढेको छ । दिनमै १० जनासम्म प्रहरीले राजीनामा दिन थालेपछि प्रहरी प्रधान कार्यालयले कुनै पनि सुविधा कटौती नहुने भन्दै पटक–पटक सर्कुलर गर्नुपरेको छ ।
धेरैको राजीनामा रोकिएका छन् । साउनदेखि पुससम्मको ६ महिनामा ८०९ जनाले राजीनामा दिएका छन् । पुसमामा मात्र १७१ प्रहरीको राजीनामा स्वीकृत भएको छ ।
मंसिरमा १२७, कात्तिकमा २८३, असोजमा ४५, भदौमा ५८ र साउनमा १२५ जनाको राजीनामा स्वीकृत भएको थियो ।
माघमा राजीनामा लिएर आउने अझै बढेपछि गत साता मात्र प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीहरूले पाउने सेवा–सुविधामा कुनै पनि कटौतीनभएको व्यहोरा सम्पूर्ण प्रहरी कर्मचारीहरूमा जानकारीका लागि अनुरोध भन्दै’ सर्कुलर गरेको छ ।
प्रशासन महाशाखाले त राजीनामाको बढ्दो कारणबारे अध्ययनसमेत थालेको छ । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य अन्य अवसरका लागि प्रहरी अधिकारीले राजीनामा दिने गरेको र त्यो पहिलेदेखि नै कायम रहेको बताउँछन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनमा सेवा–सुविधाको कमी, अत्यधिक ड्युटी र सरुवा–बढुवामा निष्पक्ष निर्णय नहुने भएकाले राजीनामा दिने गरेको खुलेको छ ।
तर, तल्लो तहलाई सेवामा टिकाउने गरी सरकारले कुनै पहल गरेको छैन । अहिलेको अवस्था कस्तो छ भने जवानमा भर्ना भएका वरिष्ठ हवल्दार तथा असइमा भर्ना भएका वरिष्ठ सइबाटै अवकाशमा जाने अवस्था छ ।
तल्लो तहको यस्तो जाम खुलाउन पटक–पटक माग हुँदा पनि गृह मन्त्रालयले पहल गरेको छैन । बढुवाको जाम खुलाउन तल्लो तहका केही पदमा माथिल्लो तहमा मिलान गर्नुपर्ने आवाज उठेपनि तल्लो तहका प्रहरीका समस्या कसैले नसुन्ने गरेको उनीहरूको गुनासो छ ।
कतिसम्म भने सइबाट वरिष्ठ सइमा बढुवा गर्दा तलब दुई सय ६२ रुपैयाँ घटेकोमा तीन वर्षसम्म त्यो समायोजन समेत हुन सकेको छैन ।