डडेल्धुरा : सवारी ज्यान मुद्दामा फरार रहेका बैतडीको पुर्चोंडी नगरपालिका- ६ का ३७ वर्षीय विरेन्द्र सिंह साउदलाई प्रहरीले पक्राउ गरेको छ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको टोलीले हिजो (माघ २८) गते दिउँसो साढे एक बजे धनगढी उपमहानगरपालिका-४ स्थित मायामेट्रो अस्पताल नजिक सडकमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
साउद सवारी ज्यान मुद्दामा दोषी ठहर भई २ महिना २५ दिनको कैद सजाय तोकिएका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आज ( माघ २९) गते डडेल्धुरा जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।