बैतडीको दोगडाकेदारमा आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

दोगडाकेदार- ६ सित्तडमा निर्माण भइरहेको अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको र अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको जेठ ३ मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

अब यो कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।

अस्पताल निर्माणको लागत अनुमानित १४ करोड ६८ लाख २९ हजार ६ सय ६५ रहेको र ठेक्का सम्झौतामा आठ करोड ५१ लाख ४६ हजार सात सय ३० तोकिएको थियो ।

हालसम्म सात करोड ८८ लाख ७२ हजार पाँच सय १७ रकम निकासा भइसकेको छ भने सात करोड ५१ लाख ९२ हजार ६ सय १७ खर्च गरिएको छ । दुई करोड २२ लाख ४८ हजार नौ सय ६८ रकमको अतिरिक्त माग गरिएको छ ।

यसका साथै, दोगडाकेदार अस्पतालका लागि अत्याधुनिक स्वास्थ्य उपकरणको माग गरिएको छ ।

अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एमए), युएसजी । उपकरण (कलर डोप्टर), सी बी सी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.