CAMBRIDGE PUBLIC SCHOOL

सेनासँगको मैत्रीपूर्ण भलिबलमा पत्रकार महासंघ डडेल्धुरा विजयी

डडेल्धुराः नेपाली सेनासँगको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको टिम विजयी भएको छ । मंगलबार नेपाली सेनाको रणबम गण अमरगढी नगरपालिका–१ दह ब्यारेकसँगको खेलमा पत्रकार महासंघको टिम ३–१ को सेटमा विजयी भएको हो ।

मैत्रीपूर्ण प्रतियोगिताको खेल ‘बेस्ट अफ फाइभ’ प्रणालीमा खेलाइएको थियो । रणबम गण दहकै कोर्डमा भएको खेलमा पहिलो सेट नेपाली सेनाले जितेको थियो । त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै पत्रकार महासंघको टिम विजयी भएको हो ।

रणबम गणको वार्षिक क्यालेन्डरअनुसार गणको अधिकृत तथा पत्रकार महासंघ डडेल्धुराबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरिएको गणपति प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिए । उनका अनुसार नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले मैत्रीपूर्ण भलिबल आयोजना गरिएको हो ।

नेपाली सेनाले बेला बेलामा नागरिकसँगका खेलकुद प्रतियोगिताको समेत आयोजना गर्दै आएको उनले बताए ।

यसका साथै गणपति थापाले पत्रकार राज्यको चौथो अंग भएकाले आफूहरूले जिल्लामा गरिरहेका काममा निरन्तर खबरदारी गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले सेना र पत्रकारबीच मैत्रीपूर्ण भलिबलको आयोजना गरेकोमा गण परिवारलाई धन्यवाद दिए ।

यस्ता प्रतियोगिताले नेपाली सेना र पत्रकारबीचको सम्बन्ध सुदृढ हुँदै जाने उनको भनाइ थियो ।

उक्त प्रतियोगिताको समापनमा गणपति थापाले सहभागी खेलाडीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो हस्तान्तरण गरेका थिए ।  पत्रकार महासंघ डडेल्धुराको तर्फबाट अध्यक्ष सिंहले गणलाई मायाको चिनो प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.