डडेल्धुरा : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा अराजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् ।

धनगढीमा शुक्रबार आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा उनले राखिन् ।
उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन् । परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन् ।