CAMBRIDGE PUBLIC SCHOOL

कार्यसम्पादन मूल्याङ्कनमा गन्यापधुरा गाउँपालिका सुदूरपश्चिमा प्रथम

हिक्मत सिंह
कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा आएको छ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाले ७४ दशमलव ७८ प्रतिशत अङ्क प्राप्त गर्दै कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्य सम्पादन मूल्याङ्कन गर्ने गर्दछ । आयोगले दिएको जानकारी अनुसार गन्यापधुरा गाउँपलिकाले सुदुर पश्चिमका ८८ वटै पालिका मध्येबाट कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशमै पहिलो भएको हो ।

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको विधाहरुमा मुल्यांकन गरिएको हो । यसैगरि आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियो । त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।

पालिकाले स्थानिय सरकार संचालन ऐनलाई मध्य नजर गर्दै कानुन र आचार संहितालाई अवलम्बन गरि कार्य सम्पादन गर्ने गरेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष ईन्द्र कार्कीले बताउनुभयो । जनप्रतिनिधिले निर्माण गरेका कार्यविधि, नेपाल सरकारले तय गरेका कानुन र आचारसंहिताको पुर्ण पालना गर्दे कर्मचारीले आफ्नो कार्य सम्पादन गर्ने गरेको गन्यापधुरा गाउँपालिका डडेल्धुराका प्रमुख प्रशासकिय अधिकृत दिलिप तामाङले बताउनुभयो । पालिकाले सुशासन, पारदर्शिता र जवाफदेहीताका क्षेत्रमा चनाखो भएर कामकाज गर्दे आएको समेत अधिकृत तामाङले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.