अमरगढीका मनकारी राजेन्द्र : वडाको भवन बनाउन जग्गा गरे दान
डडेल्धुरा: अमरगढी नगरपालिका-३ चम्साल गाउँका राजेन्द्रप्रसाद जोशीले वडा कार्यालयलाई जग्गा दान गरेका छन्।
जोशीले अमरगढी नगरपालिका वडा नम्बर ३ लाई वडा कार्यालयको भवन बनाउन जग्गा दान गरेका हुन्।
अमरगढी नगरपालिका-३ का वडाध्यक्ष तीर्थबहादुर ऐरका अनुसार जोशीले १ रोपनी २ आना ३ दाम २ पैसा जग्गा आज (बुधबार) मालपोत कार्यालय डडेल्धुरामा गएर अमरगढी नगरपालिकाका नाममा हालेका हुन्।
नगरको नाममा जग्गा दान गरेको लालपुर्जा उनले नगरप्रमुख डिल्लीराज जोशी र वडाध्यक्ष तीर्थबहादुर ऐरलाई हस्तान्तरण गरेका थिए।
वडाको भवन बनाउन जग्गा दान गरेकोमा वडाध्यक्ष ऐरले जोशीलाई धन्यवाद व्यक्त गरे।
जोशी स्वर्गीय बुवा कृष्णदत्त जोशी र आमा चन्द्रादेवीका ज्येष्ठ छोरा हुन्।
उनले स्वर्गीय बज्यै नन्दादेवी बोहरा जोशीको स्मृतिमा वडाको भवन बनाउन जग्गादान गरेको बताए।
वडा नम्बर ३ को कार्यालय लामो समयदेखि भाडाको घरमा सञ्चालन रहेकोमा केही महिना अघिदेखि घटाल स्वास्थ्य चाैकीबाट सञ्चालनमा छ।