डडेल्धुरा : ‘मेरै घरमा दुई हलगोरु थिए । खेतीपातीको समयमा गोरुले नै खेत जोत्ने गथ्र्यो । गोबर जम्मा गरेर खेतबारीमा त्यसैको मल हाल्थ्यौ । समयसँगै सबै परिवर्तन भयो । छोराले समेत मिनिटिलर ल्याएको छ ।’ उनले भने ।
उनी अर्थात् अमरगढी नगरपालिका–३ हटगाउँका नन्दराज उप्रेती । उमेरले ७० कटेका उप्रेती जीवनको उत्तरार्धमा आएर आफ्नो जीवन गाईगोरु चराउनमै बिताएको स्मरण गर्छन् ।
उनका कतिपय साथीहरू विदेश लागे । कतिपय रोजगारी तर्फ अग्रसर भए । तर, उप्रेती भने कहीँकतै गएनन् । जनावरसँगको प्रेमकै कारण उनले सिंगो जीवन गोठालोमै बिताए । गोरु बाख्रा बिक्रि गरेरै छोराछोरी हुर्काएको उनी बताउँछन् ।
गोठालोमै जीवन बिताएका उप्रेतीले अझै पनि गाइगोरु पालेका छन् । खेतबारी जोत्न उनले हलगोरु पालेको भएपनि उनका छोराले घरमा मिनिटिलर ल्याएर राखेका छन् ।
हलगोरुले खेतबारी जोत्न समय धेरै लाग्ने र मिनिटिलरले चाँडै सकिन्छ भनेर घरमा छोराले मिनिटिलर ल्याएको उनको बुझाइ छ । समयसँगै परिवर्तन हुँदै जानु स्वभाविक भएको उप्रेती बताउँछन् । हलगोरु हराएसँगै खेतबारीमा प्रयोग हुने मललाई लिएर चिन्तित छन्, उनी ।
‘हलगोरु पाल्न छोडेपछि गोठेमल पनि हरायो । खेतबारीमा अन्नबाली र तरकारीका नाममा विषादी फल्दै छ । रासायनिक मल प्रयोग गरेर मानव स्वास्थ्यमाथि खेलबाड भयो ।’ उनी भन्छन्, ‘याँ–नयाँ प्रविधिको विकास हुनु राम्रो हो । तर, पुरानो परम्परालाई छोडेर सबै नयाँ अँगाल्नु पनि हुँदैन ।’
खेतबारीको कामका लागि अर्मपर्म गर्ने चलन पनि अहिले हटेको अमरगढी नगरपालिका–२ का स्थानीय राज सार्की बताउँछन् । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगमा आएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिदिन्छ ।’ कतिपय किसानले गोरु खोजेरै खनजोत गर्ने गर्छन् । मिनीटेलर हलो गोरु जति उपयोगी नभएको कृषक बीर साउद बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने उनले बताए ।
गोरुको जस्तो जोताइ मिनीटेलर हलोले नहुने उनको भनाइ छ । पहिले गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गरेको उल्लेख गर्दै अचेल गाउँभरिमा हल गोरु पाउन मुस्किल हुने साउँद बताउँछन् । आफूले दुई वर्षसम्म मिनीटेलरले जोतेर धान, मकै र गहुँ लगाएको सुनाउँदै पहिलेको तुलनामा झण्डै आधा घटेको बताए ।
अमरगढी नगरपालिका–३ हटगाउँकै कृषक गोपाल थापाले गाउँमा काम गर्ने जनशक्ति कम हुँदै गएपछि खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताए । पाँच वर्ष अगाडिसम्म धान,मकै फल्ने खेतबारीमा अहिले वनमारा र तीतेपातीले ढाकिन थालेको उनको भनाइ छ ।

पहिले गाउँमा धेरै युवा शक्ति हुने र गोरु पनि हरेक परिवारले पाल्ने गरेको स्मरण गर्दै अचेल गाउँभरि दुई हल गोरु पाउन मुस्किल हुने थापाले बताए । अहिले पनि धेरैले खेतबारी खोज्ने गोरुकै प्रयोग गरे पनि पाल्न भने छोडेको उनी बताउँछन् ।
‘गोरु पाल्न धेरैलाई गाह्रो हुने गर्छ । तर, गोरु पाले फाइदा पनि छ । गोठेमल पनि बिक्रि गर्न मिल्छ ।’ उनले भने, ‘अहिले गाउँमा गोरु पाल्नै छोडिसके । गोठेमल किन्नेको पनि भ्याइनभ्याइ छ । कमाइ राम्रो हुन्छ ।’
गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ । कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ ।
कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नुपर्ने धेरै किसिमका झण्झटबाट पनि मुक्ति मिलेको कृषक बताउँछन् ।
‘पहिलापहिला खेत जोत्नका लागि हली र गोरु खोज्नुपर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नुपर्ने, दिनभरि गोरुको पछिपछि ओहोरदोहोर गर्नुपर्ने लगायतका धेरै झण्झट हुने गर्थे’, मिनिटिलरबाट खेत जोत्न थालेको अजयमेरु गाउँपालिका–४ का कृषक रमेश बिष्टले भने, ‘अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसञ्चो हुन्छ । मिनिटिलर वा ट्र्याक्टर लगायो धने एकैछिनमा मेलो सकिन्छ ।’
‘गोरुले जोत्दा छ/सात दिन लाग्ने मेलो (खेत) मा मिनिटिलर वा ट्र्याक्टरबाट एकै दिनमा सकिन्छ । लागत र झण्झट पनि कम हुनेहुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्धतितर्फ आकर्षण बढेको हो ।’ उनले भने, ‘फाइदासँगै बेफाइदा पनि छ । गोरु पाल्न छोडेपछि प्राङ्गारिक मल पनि हरायो । रासायनिक मल बढी प्रयोग हुन थाल्यो । खेतबारीमा बिषादी बढ्यो ।’
कृषिमा प्रविधिको प्रयोग बढ्दै जानु सुखद पक्ष भएको अजयमेरु गाउँपालिकाका कृषि प्राविधिक सन्तोष बताउँछन् । उनकाअनुसार अहिले पालिकाले समेत ५० प्रतिशत अनुदानमा कृषकलाई मिनिटिलर दिइरहेको छ । जिल्लामा रहेका अन्य पालिका, कृषि ज्ञान केन्द्र र आलु सुपरजोनले पनि सहयोग गरिरहेको उनको भनाइ छ ।
गोरु हराएसँगै खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको सन्तोष बताउँछन् । ‘मिनिटिलरसँगै हलगोरु पाल्नलाई पनि कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ । प्रविधिको विकाससँगै मानव स्वास्थ्यमा पनि जोखिम बढ्न थाल्यो ।’ उनले भने, ‘रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो ।’
माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा समेत ह्रास आउन थालेको कृषि प्राविधिकको भनाइ छ ।
माटो परीक्षण नगरी रासायनिक मलको जथाभावी र गोबर मलको घढ्दो प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि प्रसार अधिकृत तारीसिंह ठकुराठीको बुझाइ छ ।
‘माटोमा अम्लीयपन बढ्दा फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ’, उनले भने, ‘माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको छ ।’