हिक्मत सिंह
डडेल्धुरा । अमरगढी नगरपालिका –३ मा रहेको जनसेवा प्राथमिक विद्यालय डाडाकोट पथरोडामा चालु शैक्षिक सत्रमा कुल २१ जना विद्यार्थी विद्यालय भर्ना हुनु भएको थियो । वि.स. २०४९ सालमा स्थापना भएको सोे विद्यालयमा दैनिक जसो विद्यालय आउने विद्यार्थी संख्या कम हुदै गएपछि हाल एक जना विद्यार्थी मात्रै नियमित विद्यालय जाने गरेको पाईन्छ ।
नयाँ शैक्षिक सत्रमा २१ जना विद्यार्थी मध्ये एक जना मात्रै विद्यालयमा पढ्न आउने गरेको बताउनुहुन्छ, विद्यालयकी शिक्षिका आरती सुनार । विद्यालयमा हाल चार जना शिक्षक र एक कार्यालय सहयोगी कार्यरत रहेको शिक्षिका सुनारले बतानुभयो । वालविकासका शिक्षिकाको छोरा नियमित विद्यालय आउने गरेको शिक्षिका सुनारको भनाई रहेको छ । विद्यालयमा दुई जना स्थायी र एक जना अस्थायी शिक्षक रहेको उहाँको भनाइ छ । शिक्षकहरु नियमित रुपमा विद्यालय आउने गरेपनि विद्यार्थी नहुँदा समय वेतित गर्नै समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।
विद्यार्थीको संख्यामा कमि आयो भनेर ४ र ५ कक्षा घटाल माध्यमिक विद्यालय नुवाकोटमा समायोजन भएको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह भण्डारीले बताउनुभयो । प्र.अ. भण्डारीले भन्नुभयो, ‘केही हाम्रा पनि कमजोरी होलान् । गुणस्तरीय शिक्षा नदिन पनि सकेका हुन सक्छौं ।’ प्र.अ. भण्डारीले जिल्ला सदरमुकामबाट स्कुल बस गाउँमा आउने भएकोले पनि विद्यार्थी सदरमुकाम तिर जान थालेको बताउनुभयो । आर्थिक उन्नतीको हिसाबले संस्थागत विद्यालयमा विद्यार्थी पढाउने होडबाजीले समेत विद्यार्थीको संख्यामा कमी आएको भण्डारी बताउनुहुन्छ ।
सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकोले विद्यार्थीको संख्या घटेको स्थानीय धिरज भण्डारीले बताउनुभयो । विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारी यहाँका राजनीतिक दलले पुहँचका आधारमा भर्ना गरेकोले पनि स्थानीयले विद्यालयमा विद्यार्थी पठाउन छोडेको स्थानीय वीरबहादुर ऐरले बताउनुभयो ।
विद्यार्थीले विद्यालय छोडेर अन्यन्त्र गएको जानकारी प्र.अ.ले शिक्षा शाखामा लिखित निवेदन पेश गरेकाले केही समयभित्र विद्यार्थी र शिक्षक सहित विद्यालय मिलानको प्रक्रिया अगाडी बढाइने अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले बताउनुभयो । विद्यालय भर्ना भएका विद्यार्थी नै अन्य विद्यालयमा पठन पाठन गर्न थालेपछि समस्या देखिएको शिक्षा शाखा प्रमुख पन्तले बताउनुभयो ।