डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–८ बागचौरस्थित भूमिराज प्राथमिक विद्यालयमा अमरगढी नगरपालिकाले शिक्षक नपठाउँदा पठनपाठनमा समस्या भएको छ।
विद्यालयमा रहेको प्रावि तृतीय श्रेणीको खाली दरबन्दीमा विद्यालयले पदपूर्तिका लागि सरुवा सहमतिको फायल नगरपालिकामा पठाएको भएपनि शिक्षक नपठाएको हो।
विद्यालयमा कार्यरत शिक्षक मिनबहादुर गैरालको गत बैशाख २३ गते अनिवार्य अवकाश भए पश्चात् उनको ठाउँ खाली छ।
शिक्षक पदपूर्तिका लागि आह्वान गरेको सूचनामा विद्यालय व्यवस्थापन समितको बैशाख ३१ गते बसेको बैठकले ५ जना निवेदक मध्ये अजयमेरु गाउँपालिका–२ हाटस्थित समैजी प्राविमा कार्यरत शिक्षक केशवराज भट्टलाई सरुवा सहमति दिने निर्णय गरेको थियोे।
शिक्षक भट्टलाई दुबै विद्यालयले सरुवा सहमति दिई सकेपछि फायल अमरगढीमा जेठ ७ गते दर्ता भएको थियो। तर, झन्डै दुई महिना हुनै लाग्दा समेत नगरपालिकाले फायल अट्काएर राखेको छ।
नियम संगत नै सरुवा प्रक्रिया भएता पनि नगरपालिकाले फायल रोकेर राखेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती ओझाको दाबी छ। पटकपटक नगरपालिकामा जाँदा समेत कुनै सुनुवाइ नभएको उनी बताउँछिन्।
‘पहिले नगरपालिकामा जाँदा शिक्षा शाखा प्रमुख हेमन्त सरले सरुवा मिलानका क्रममा रहेकोले ७ दिन पनि लाग्न सक्छ। १० दिन पनि लाग्न सक्छ भन्नुभएको थियो। फेरि जाँदा अब हुँदैन करार खोल्नुस्, सूचना किन निकालेको भन्छन्,’ उनले भनिन्, ‘सूचना ननिकालेर आफू खुसी शिक्षक राख्न पाइन्छ ? विव्यसको निर्णय चेन्ज गर्न समितिका सदस्यले मान्दैनन्। हाम्रो निर्णय नगरपालिकाले मान्दैन।’
नगरपालिकाले शिक्षक नपठाउँदा पठनपाठनमा समस्या भएको उनको गुनासो छ।
‘सबै कक्षाकोठामा सिमित शिक्षकले पढाउनु पर्दा ४५ मिनेटको कक्षामा १५ मिनेट पढाउनु पर्छ। नेपालीको विषय त कहिलेकाहीँ मैले पनि पढाउने गरेकी छु,’ उनले भनिन्।
ओझाका अनुसार शिक्षक पदपूर्तिका लागि सूचना आह्वान नगर्न नगर प्रमुख डिल्लीराज जोशीले आग्रह गरेका थिए। तर, विद्यालयले विद्यालयमा आउन चाहने शिक्षकलाई जानकारी दिनका लागि सूचना आह्वान गरेको थियो।
नगरका कर्मचारी र केही जनप्रतिनिधिको स्वार्थका कारण नगरले विद्यालयमा शिक्षक नपठाएर करार खोल्न आफूहरूलाई दबाब दिइरहेको विव्यस सदस्य तुलाराम सार्कीले बताए।
वडा नम्बर ८ का वडाध्यक्ष नरबहादुर साँकी विव्यसले निर्णय गरेर पठाएको भएपनि नगरपालिकाले रोकेको बताउँछन्। उनी भन्छन्, ‘यो विषयमा मभन्दा विज्ञ हेमन्त सर हुनुहुन्छ। उहाँबाट सबै कुरा बुझ्नु।’
मेयर र शिक्षा शाखा प्रमुखको नियतमा शंका !
भूमिराज प्राविले शिक्षक सरुवाका लागि जेठ ७ गते नगरमा फाइल दर्ता गरेको छ।
तर, नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले जेठ ८ गते प्रकाशन गरेको सूचनाले उनको नियतमाथि प्रश्न उठाएको छ।
पन्तद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यस अमरगढी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको समायोजन तथा शिक्षक दरबन्दी मिलानको कार्य प्रक्रियामा रहेकाले यस नगरपालिकाबाट अन्य स्थानीय तहका विद्यालयमा सरुवा भई जाने शिक्षकका हकमा बाहेक अन्य शिक्षकका लागि शिक्षक सरुवा सम्बन्धी अन्य सम्पूर्ण कार्यहरु अर्को सूचना नभएसम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ।’
शिक्षक भट्टको फायल जेठ ७ गते दर्ता भइसकेकोले उनको हकमा यो सूचना लागू नहुनु पर्ने हो। तर, पन्त र मेयरले अनावश्यक बखेडा झिकिरहेको आरोप स्थानीयको छ।
बाह्य पालिकाबाट नगरपालिकामा आउने शिक्षकको हकमा सम्पूर्ण कार्य स्थगन गरेको अमरगढी नगरपालिकाको जेठ २३ गते कार्यपालिका बैठकमा गन्यापधुरा गाउँपालिका अन्तर्गतको असिग्राम माध्यमिक विद्यालय रुवाखोलामा कार्यरत शिक्षक लालबहादुर साउदलाई अमरगढी नगरपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा सरुवा भइ गएमा सहमति दिने निर्णय गरेको छ।
मेयर डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘गन्यापधुरा गाउँपालिका अन्तर्गतको श्री असिग्राम माध्यमिक विद्यालय रुवाखोला डडेल्धुरामा पदाधिकार रहेका निमावि तह, तृतीय श्रेणीका स्थायी शिक्षक लालबहादुर साउदले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाई दिनुभएको निवेदन अनुसार निजलाई यस ’अमरगढी नगरपलिका अन्तर्गतको श्री महेन्द्र माध्यमिक विद्यालय खलङ्गा डडेल्धुरामा व्यवस्थापन गर्न सरुवा सहमति प्रदान गर्ने साथै महेन्द्र माध्यमिक विद्यालयको सोही दरवन्दीको शिक्षक सरूवा भई गएमा सहमति प्रदान गर्ने’ कार्यपालिकाको मिति २०८१ जेठ २३ को निर्णय भएकाले नियमानुसार आवश्यक सहयोगका लागि अनुरोध छ।’
के भन्छन् शिक्षा शाखा प्रमुख पन्त ?
आफूहरू सहमतिको लागि परेको भएपनि मेयरले आदेश नदिएपछि सरुवा रोकिएको शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले जानकारी दिए। शिक्षक सरुवाको प्रष्ट कानुन नहुँदा समस्या भएको पन्तको भनाइ छ।
‘सरुवाको नयाँ प्रोसेस गरेमा ढिलो हुन्छ। त्यसै फायललाई अगाडी बढाउन सहमति भएन्,’ उनले भने, ‘स्थानीय तहको सहमति बाध्यतात्मक होइन्, यहाँ सहमति माग्छन्। पुरानै मेयर (विशेश्वरप्रसाद ओझा) सापको पालादेखि मेयरसापको आदेशमा अफिसले पत्राचार गर्छ।’
उनले सहमति नहुने भनेर जानकारी गराइसकेको बताए। ‘मेयर सापको आदेश भएन, सहमति नहुने भयो, लिखित लगेर लैजाने भए लैजानुस् भनेको हो। उहाँहरु त्यसै गर्छु भन्छन्, मेयरको अर्को उपाय निकाल्नुस् भन्ने छ,’ उनले भने।
उनका अनुसार विद्यालयमा पद रिक्त नहुँदै सरुवा सम्बन्धि विवादित कुराहरू कार्यालयमा पुगेपछि कार्यालयबाट सरुवा मार्फत नभई विज्ञापन मार्फत पदपूर्ति गर्न विद्यालयलाई निर्देशन गरिएकोमा विद्यालयले सो नमानी सरुवा प्रक्रिया नै अगाडि बढाएकाले नगरबाट सहमति नभएको हो।
उनले करारमा कर्मचारी राख्न मेयरले विद्यालयलाई निर्देशन दिएकाे बताए।