डडेल्धुरा : नेपाली काँग्रेसकी नेतृ तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्कालाई आपत आइलागेको छ।
राजनीतिक पहुँचले शिक्षक सरुवा निर्देशिका विपरीत पती लालबहादुर साउदको सरुवा गराएपछि उनीमाथि आपत आइलागेको हो।
लालबहादुर गन्यापधुरा गाउँपालिका–१ रुवाखोला स्थित असिग्राम माविमा निमावि तृतीय श्रेणीको नेपाली विषयमा कार्यरत शिक्षक हुन्।
तर, उनको निर्देशिका विपरीत जिल्ला सदरमुकामको महेन्द्र माध्यमिक विद्यालयमा सरुवा गरिएको छ।
लालबहादुरको सरुवा गरिएको पत्रमा दरबन्दीसहित सरुवा गरिएको हो वा व्यक्तिको मात्रै सरुवा गरिएको हो भन्ने बारे केही खुलाइएको छैन्।
तर, महेन्द्र माविमा दरबन्दी खाली नभएकै अवस्थामा उनको सरुवा भएपछि स्थानीयले दरबन्दीसहित सरुवा भएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारदप्रसाद जोशीलाई भेटेका छन्।
हिजो (मंगलबार) कार्यालय प्रमुख जोशी भेट्न पुगेका रुवाखोलाका स्थानीयले दरबन्दीसहित सरुवा गरिएको भए मान्य नहुने चेतावनी समेत दिएका छन्।
स्थानीय इन्द्र महराले शिक्षक लालबहादुरको सरुवा भएपनि दरबन्दी यथावत् रहनु पर्ने बताए। उनले सरुवा पत्रमा स्पष्ट नखुलेको भन्दै यथार्थ खुलाउन जोशीलाई आग्रह समेत गरे।
असिग्राम माविका प्रधानाध्यापक गणेश पन्तले सरुवा सहमति दिने समयमा महेन्द्र माविको शिक्षक असिग्राममा आउने र असिग्रामको शिक्षक महेन्द्र माविमा जाने कुरा भएको भएपनि अहिले एकल सरुवा गरिएकोमा आपत्ति जनाए।
उनले शिक्षक मात्रै सरुवा गरिएको हो वा दरबन्दीसहित सरुवा गरिएको हो भनेर बुझ्न शिक्षा विकास तथा समन्वय इकाईमा आएको बताए।
…यस्तोसम्म भएको थियो
महेन्द्र माध्यमिक विद्यालयमा निमावि तृतीय श्रेणीको नेपाली विषयको एक दरबन्दी रहेको छ। उक्त दरबन्दी अहिले एक जना महिला शिक्षिका कार्यरत छिन्।
ती शिक्षिकाको सरुवा गरेर उनको ठाउँमा लालबहादुरलाई ल्याउन सरस्वतीले अनेकन प्रयास गरेको बुझिएको छ।
लालबहादुर अपांगता रहेको भन्दै जबर्जस्ती सरुवा गर्न खोज्दा पनि उनीभन्दा सिनियर र महिला भएकै कारण उनको सरुवा गर्न सरस्वतीलाई सहज भएन्।
आफ्नो सरुवा गर्न खोजिएको थाहा पाएपछि ती शिक्षिकाले शिक्षा विकास तथा समन्वय इकाईमा मञ्जुरी बेगर सरुवा गरिए कानुनी कारबाहीको बाटो खोज्ने चेतावनी स्वरूप निवेदन दिएको स्रोत बताउँछ।
महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐर विद्यालयबाट कसैको इच्छा विपरीत सरुवा नहुने बताउँछन्। ऐरका अनुसार, विद्यालयमा विद्यार्थीको चाप उच्च छ। दरबन्दीसहित वा काजमा शिक्षक आउनु विद्यालयको लागि फाइदाजनक छ।
उनले अरूलाई असर पुग्ने गरि कसैको सरुवा नहुने दाबी गरे।
के भन्छन् शिक्षा समन्वय इकाई प्रमुख ?
मन्त्रालयबाटै परिपत्र आइसकेपछि बाध्य भएर सरुवा गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारदप्रसाद जोशी बताउँछन्।
उनका अनुसार सचिव स्तरीय निर्णयबाट पत्र आइसकेपछि माननीय सरस्वती उनको कार्यालय पुगेकी थिइन्। र, उनलाई चाँडोभन्दा चाँडो सरुवा गर्न दबाब दिएकी थिइन्।
उनी भन्छन्, ‘माननीय ज्यूले रूवाखोलाका सबैलाई मिलाउने आश्वासन समेत दिएकी थिइन्। उनका पति (लालबहादुर) ले त सहनै नसक्ने गरि गाली गरेर गएका थिए। मैले त मेरो विभागीय कार्यालयको निर्देशन पालना गरेको हुँ।’
लालबहादुरको शिक्षक सेवामा नाम निकाल्दा परिक्षण कालमा सरुवा गर्न नमिल्ने भएपनि निर्देशिका विपरीत तीन ठाउँ सरुवा गरिएको समेत खुलेको छ।
के भन्छिन् सरस्वती ?
श्रीमान् लालबहादुर मानसिक रोगी भएको सरस्वतीको दाबी छ। श्रीमान्ले एक दिन आफ्नै जनैले पासो लगाएको स्मरण गर्दै उनले कुरा मन्त्रालयसम्म पुगेको बताइन्।
असिग्रामबाट श्रीमान्को मात्रै सरुवा भएको उनको भनाइ छ। तर, दरबन्दी यथावत् रहेको उनी बताउँछिन्।
‘दरबन्दी काट्ने अधिकार मन्त्रालय, मन्त्री तथा प्रधानमन्त्रीको समेत छैन्। स्थानीय तहलाई मात्रै अधिकार छ। महेन्द्र माविले तलब कसरी खुवाउने भनेर देला। असिग्रामले शिक्षकको लागि भ्याकेन्सी खोल्छ वा कोही सरुवा भएर आउँछन्,’ उनले भनिन्, ‘त्यो कुरा माथि पुगिसकेपछि उ ले के निर्देशन दिन्छ त ? लाल सरको स्वास्थलाई मध्ये नजर गरेर व्यवस्थापन गर्न खोजेको हो।’
त्यसैमा थप्दै उनले भनिन्, ‘विद्यालयमा एक दरबन्दीमा दुई शिक्षक हुन्छन् भने पालिकाले चलाउन मिल्छ, अर्कोलाई सरुवा गर्न सक्छ।’