डडेल्धुरा : डडेल्धुरामा मापदण्ड मिचेर बनाइएको सडक संरचना भत्काइएको छ।
आज (आइतबार) अमरगढी नगरपालिका-५ को कीर्तिपुरदेखि वडा नम्बर २ को आइत बजार जोड्ने (रिङ्गरोड) सडकमा मापदण्ड मिचेर बनाइएको संरचना भत्काइएको हो।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख नवराज रावलसहितको टोलीले अमरगढी नगरपालिका–४ स्थित निर्माणाधीन सडकको प्लम वाल भत्काउन लगाएको हो।
आइत–भलिया–कीर्तिपुर जोड्ने सडक खण्डको प्लम वालमा ढुङ्गा, बालुवा, सिमेन्टको मिश्रण ठिक मात्रामा नगरेको र गुणस्तर पनि ठिक नपाइएपछि जेसीभी लगाएर भत्काइएको कार्यालय प्रमुख रावलले बताए।
उनले भने, ´कमसलखाले निर्माण सामग्री प्रयोग भएको प्रमाणित भएपछि हामीले निर्माण गरिएको संरचना भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएका छौं।’
गत असार ६ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोलीले अनुगमन गर्दा अमरगढी– ५ को कीर्तिपुरदेखि वडा नम्बर २ आइतबार बजार जोड्ने उक्त सडकको प्लम वालमा बालुवा गिट्टी भन्दै माटोयुक्त निर्माण सामग्री प्रयोग गरेर पीसीसी ढलान गरिरहेको फेला परेको थियो।
शनिदेव साजेन्द्र निर्माण सेवाले बनाइरहेको उक्त संरचनामा निर्माणमा बदमासी भइरहेको पाइएपछि रास्वपाले प्रजिअ न्यौपानेलाई निर्माणस्थलमा बोलाएको थियो भने प्रजिअले नमुनाको गुणस्तर जाँच गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएका थिए।
प्रदेश सरकारको गत आर्थिक वर्षमा प्राप्त २३ करोड बजेटबाट यो सडक निर्माणका लागि ठेक्का लगाएको थियो।
ठेक्का पाएको निर्माण कम्पनीले तोकिएको मापदण्ड र सम्झौता अनुसार काम नगरेको पाइएपछि गुणस्तरहीन काम नगर्न नगराउन सम्बन्धित कार्यालयलाई पत्र पठाएको प्रजिअ न्यौपानेले बताए।
कमसल खाले निर्माणको कामका विषयमा निर्माण कम्पनीका प्रतिनिधि यज्ञराज जोशीले लेवर र मिस्त्रीले कमजोरी गरेको जिकिर गरे।
उक्त निर्माण कम्पनीले बारम्बार गुणस्तरहिन काम गर्दै आएको आरोप लाग्दै आएको थियो। सेती वा महाकालीको बालुवा प्रयोग गर्ने स्टमेट भएपनि सडकमै खनेको माटो बालुवाको रुपमा निर्माण कम्पनीले प्रयोग गरेको स्थानीयको आरोप छ।
सडक निर्माणको ठेक्का २०८२ पुस ५ गते सम्ममा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको छ।