

डडेल्धुरा : रसुवास्थित भोटेकोशी नदीमा आएको हिमपहिरो र बाढीमा परी जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका कम्तीमा ९ जना कामदार सम्पर्कविहीन भएका छन्।
आलिताल गाउँपालिका–३ कान्तिपुरका ६ जना र आलिताल–७ नाउलीका ३ जना गरी ९ जना सम्पर्कविहीन भएका हुन्।


सम्पर्कविहीन हुनेमा आलिताल–३ का उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली तथा आलिताल–७ का दीपक घर्ती, राजेश घर्तिमगर र किरण घर्तिमगर रहेका छन्।
आयोजनामा सँगै कार्यरत आलिताल–३ का सुनिल बुढामगरका अनुसार उनी काममा नगएकाले सुरक्षित छन्। उनका अनुसार आयोजनामा कार्यरत करिब २९ जना नै सम्पर्कविहीन भएको जानकारी आएको छ।
बुढामगर आलिताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढामगरका छोरा हुन्।
घटनापछि बेपत्ता कामदारको खोजी तथा उद्धार प्रयास जारी रहे पनि उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।


