

काठमाडौं : नेपालको उत्तरी सीमाना नजिकै तिब्बतमा बुधबार बिहान गएको भूकम्पपछि भोटेकोशी नदीमा एक्कासि भीषण बाढी आएको छ। भूकम्पपछि तिब्बततर्फ कुनै हिमताल फुट्दा आकस्मिक रूपमा बाढी आएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।
बुधबार बिहान नेपाली समयअनुसार ८ बजेर ३७ मिनेटमा नेपालको सीमाना नजिकै तिब्बत क्षेत्रमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसको केही समयपछि नेपालतर्फको भोटेकोशी नदीमा अस्वाभाविक रूपमा पानीको बहाव बढेको हो।


करिब ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा बाढी आइपुगेको थियो। एक्कासि आएको बाढीले भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण नदी आसपासका पुल, विद्युत्का टावर तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरणहरू आएका छन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवासँगै नुवाकोटका नदी तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ।
भूकम्पपछि यति छोटो समयमा नदीमा आएको अस्वाभाविक बाढीले घटनाको कारणबारे थप चासो बढाएको छ। हिमताल फुटेको हो वा अन्य कुनै कारणले अचानक पानीको ठूलो बहाव आएको हो भन्नेबारे थप अध्ययन आवश्यक देखिएको छ।
यसैबीच, भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान आग्रह गरिएको छ।


