
डडेल्धुरा: जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) डडेल्धुरासहित देशका २९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
आज बिहान ८ बजे जारी गरिएको मौसम बुलेटिनअनुसार हाल कोसी प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने देशका बाँकी अधिकांश स्थानमा साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने सम्भावना पनि औँल्याइएको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानसहित देशका विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, बाढी पूर्वानुमान महाशाखाले डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरसहित २९ जिल्लाबाट बग्ने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले विशेषगरी नदी किनार, तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

