
डडेल्धुरा: टिवि इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालि, अमरगढी–५, डडेल्धुराले वार्षिक समीक्षा तथा स्थापना दिवस मनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको छ।
आइतबार आयोजित कार्यक्रममा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको भन्दै लेखा प्रमुख रमेश बोहरालाई उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मानपत्रसहित २० हजार रुपैयाँ नगद प्रदान गरिएको छ।


यस्तै, साइड इन्चार्ज दीपक बोहरालाई मेहनती तथा इमानदार कर्मचारी घोषणा गर्दै सम्मानपत्रसहित १० हजार रुपैयाँ तथा सब–इन्जिनियर नरेश धामीलाई अनुशासित कर्मचारी घोषणा गरी सम्मानपत्रसहित ५ हजार रुपैयाँ नगद प्रदान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै कम्पनीका कार्यकारी निर्देशक डम्बर साउदले कर्मचारीको मेहनत र समर्पणले कम्पनीलाई सफल बनाएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र गुणस्तरीय बनाउन आग्रह गरे।
‘पूर्वाधार विकासका काम निर्धारित समयमै सम्पन्न गर्नुका साथै निर्माणको गुणस्तरमा कुनै सम्झौता गरिने छैन,’ उनले भने, ‘सेवाग्राहीको विश्वास कायम राख्दै अझ प्रभावकारी रूपमा काम गर्न सबै कर्मचारी प्रतिबद्ध हुनुपर्छ।’
कम्पनीले स्थापना दिवसको अवसरमा वार्षिक कार्यसम्पादनको समीक्षा गर्दै आगामी योजनाबारे समेत छलफल गरेको जनाएको छ।

