
डडेल्धुरा : भागेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
बिहीबार गाउँपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा वर्षभर सञ्चालन भएका योजना, कार्यक्रम तथा आय–व्ययको विवरण प्रस्तुत गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाका अनुसार सो वर्ष गाउँपालिकाले कुल ५२ करोड ६२ लाख ६० हजार ४१८ रुपैयाँ बजेट विनियोजन गरेकोमा ३७ करोड ८२ लाख ८५ हजार २०८ रुपैयाँ खर्च भएको छ।
चालुतर्फ ३४ करोड २२ लाख ९८ हजार ४१८ रुपैयाँ विनियोजन भएकोमा २८ करोड ५० हजार १५ हजार ७६० पैसा खर्च भएको छ। जुन ८२% रहेको छ।

पुँजीगततर्फ १८ करोड ३९ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा ९ करोड ३४ लाख ७७ हजार ४४७ रुपैयाँ खर्च भएको छ। जुन ५१% हुन आउँछ।
सार्वजनिक सुनुवाइमा सहभागीले विभिन्न समस्या तथा सुझाव राखेका थिए।
सडक स्तरोन्नति, शैक्षिक सुधार, बेरुजु असुल उपरान्त घटाउने, नागरिकप्रति थप जिम्मेवार बन्ने, पालिकामा सञ्चालित एम्बुलेन्स, विद्युत्को समस्या, वडा सचिवको समस्या, योजना अनुगमन लगायतका विषय प्राथमिकतामा उठे।
सुनुवाइ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हेमराज चटौतले सुनुवाइ कार्यक्रममा उठेका प्रश्न, सुझाव तथा जिज्ञासालाई ग्रहण गर्दै आगामी दिनमा अघि बढ्ने बताए।
उनले भागेश्वर आफैंमा दुर्गम क्षेत्र रहेको बताउँदै भने महाकालीसँग मात्रै हाम्रो ३२ किमि सीमा जोडिएको छ।चुँडी, पत्रम लगाएतका विकट क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे र यी क्षेत्रमा चाँडै विद्युत विस्तार हुने जानकारी दिए।

