
डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप पाउनु सबै बालवालिकाहरुको नैसर्गिक अधिकार हो’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गगन भण्डारीले पूर्ण खोप सुनिश्चितता घोषणा गरे ।


कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख भण्डारीले पालिका अध्यक्ष हेमराज चटौतलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष चटौतले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै भौगोलिक विकटता, आर्थिक अभाव तथा विभिन्न चुनौतीका बाबजुद सबै पक्षको सहयोग र सहकार्यका कारण गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न सम्भव भएको बताए ।

खोप कार्यक्रमले शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चटौतले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मानबहादुर शाहुले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षमा १६ देखि ५९ महिनासम्मका ६ सय ७ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताए ।


खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुनेमा पत्रकार शेर भण्डारीले जोड दिए ।
उनले रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी भएको बताउँदै बालबालिकालाई समयमै खोप दिए उपचारमा लाखौं रकम खर्चिनु नपर्ने बताए ।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले खोप मानव जीवन रक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बालबालिकालाई निःशुल्क प्रदान गरिने खोपमा राज्यको ठूलो लगानी रहेको बताए ।
उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई गाउँपालिकाले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए । उनले जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाले पूर्ण खोप पालिका घोषणा गरेपछि जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै पूर्ण खोपयुक्त घोषणा गरिने जानकारी दिए ।

प्रमुख अतिथि भण्डारीले बालबालिकाको पूर्ण खोप सुनिश्चित हुनु स्थानीय तह मात्र नभई समग्र सरकारकै महत्वपूर्ण उपलब्धि भएको बताए । उनले खोपको महत्वलाई सामान्य रूपमा नलिन आग्रह गर्दै खोपकै कारण विगतमा देखिने गरेका विभिन्न महामारी तथा स्वास्थ्य समस्यामा कमी आएको उल्लेख गरे ।
भण्डारीले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको बताउँदै खोप कार्यक्रमका कारण बाल मृत्युदर घटेको, स्वास्थ्य अवस्थामा सुधार आएको तथा समाजमा सकारात्मक परिवर्तन देखिएको धारणा राखे ।

उनले खोप कार्यक्रमलाई साझा जिम्मेवारीका रूपमा लिएर अगाडि बढ्न आग्रह गर्दै खोपले १४ प्रकारका रोगबाट बचाउने र राज्यको लगानी जनतासम्म पु¥याउन स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा वडाका उत्कृष्ट स्वयमसेविकालाई सम्मान समेत गरिएको थियो ।




