आलितालले ल्यायो ४९ करोड बढीको बजेट, पुरानो खर्चको गति भने सुस्त

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राखेर बजेट ल्याइए पनि चालु आर्थिक वर्षको आय–व्यय विवरणले भने कार्यान्वयन पक्षमा चुनौती देखाएको छ।

Amargadhi Education

गाउँपालिकाको २३औँ गाउँसभामा उपाध्यक्ष मैनाकुमारी रावल बोहराले बजेट प्रस्तुत गर्दै ‘विकासमा सहभागिता, परिणाममा जवाफदेहिता’ भन्ने मूल मन्त्रका साथ समृद्ध र आत्मनिर्भर आलिताल निर्माणको लक्ष्य लिइएको बताइन्। जलवायु परिवर्तन, युवा पलायन र उत्पादनशीलता न्यूनताजस्ता समस्यालाई अवसरमा बदल्ने गरी नीति तथा कार्यक्रम तय गरिएको उनको भनाइ छ।

आगामी वर्षका लागि गाउँपालिकाले आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटमार्फत बजेट व्यवस्थापन गर्ने जनाएको छ। आन्तरिक स्रोतबाट मात्रै १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ।

अजयमेरु फाैजी केरा

तर चालु आर्थिक वर्ष २०८२/८३ को अवस्था हेर्दा लक्ष्यअनुसार राजस्व संकलन र बजेट खर्च हुन सकेको छैन। ५३ करोड ६६ लाख १० हजार रुपैयाँको संशोधित बजेटमध्ये जेठ मसान्तसम्म ४१ करोड ६६ लाख १० हजार रुपैयाँ आम्दानी भएको छ, जुन कुल बजेटको ७७.६३ प्रतिशत हो।

खर्चतर्फ स्थिति अझ कमजोर देखिएको छ। जेठ मसान्तसम्म कुल ३३ करोड ८९ लाख ४६ हजार रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको ६३.१६ प्रतिशत हो।

आन्तरिक राजस्व संकलन पनि लक्ष्यभन्दा निकै कम रहेको छ।

९८ लाख ६९ हजार रुपैयाँ उठाउने लक्ष्य राखिए पनि जेठ मसान्तसम्म ३६ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको तथ्यांकले देखाएको छ। प्रदेश सरकारबाट अपेक्षित अनुदानसमेत पूर्ण रूपमा प्राप्त हुन नसक्दा विकास कार्यक्रम कार्यान्वयनमा असर परेको देखिन्छ।

यही कारण आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयन क्षमता अभिवृद्धि, राजस्व परिचालन सुदृढीकरण र विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.