




डडेल्धुरा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डडेल्धुराका स्थानीय तहहरूमा कार्यरत अधिकृतहरूको सरुवा गरेको छ।
मन्त्रालयले मातहतका शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आज सरुवा निर्णय गरेको हो।
सरुवाअनुसार, परशुराम नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीलाई आलिताल गाउँपालिकामा खटाइएको छ।
आलितालमा यसअघि लामो समयदेखि निमित्त प्रमुखको भरमा प्रशासनिक कार्य सञ्चालन हुँदै आएको थियो, जसले स्थायित्वको आवश्यकता देखिएको थियो।
त्यसैगरी, नवदुर्गा गाउँपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत दुर्गादत्त भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
यहाँ पनि हालसम्म इन्जिनियरलाई निमित्तको जिम्मा दिई कार्य सञ्चालन हुँदै आएको थियो।
यसैबीच, अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायलाई बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा सरुवा गरिएको छ।


