
डडेल्धुरा : नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा डडेल्धुरामा पत्रकारहरूबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। सोमबार महासंघको जिल्ला शाखाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका पत्रकारहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
प्रतियोगितामा हिक्मतबहादुर सिंह र प्रकाशबहादुर पार्कीको टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। वरूण पनेरू र शेरबहादुर भण्डारीको टिम द्वितीय तथा भीमबहादुर खत्री र टीकाराम साउँदको टिम तृतीय स्थानमा रहे।

विजेता टिमलाई नगद १५ हजार रुपैयाँ, द्वितीयलाई ८ हजार र तृतीयलाई ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले खेलकुद स्वास्थ्यका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै स्थानीय तहले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र आवश्यक बजेट विनियोजन गरिएको बताए।
उनले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाजका सकारात्मक परिवर्तनलाई पत्रकारहरूले प्रभावकारी रूपमा उजागर गर्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले प्रतियोगिताले पत्रकारहरूबीच सहकार्य, एकता र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार स्थापना दिवसलाई सिर्जनात्मक र उत्साहपूर्ण रूपमा मनाउन आयोजना गरिएको यस प्रतियोगिताले आपसी सम्बन्ध अझ सुदृढ बनाउनुका साथै स्वस्थ जीवनशैलीप्रति सकारात्मक सन्देश दिएको छ।
पुरस्कार वितरण समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी निकायका अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



