
डडेल्धुरा : डडेल्धुरालगायत देशभरका ४१ जिल्लामा आज सोमबार आकस्मिक बाढीको सम्भावना उच्च देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार डडेल्धुरा र आसपासका साना खोला–नदीमा उल्लेख्य बहाव वृद्धि भई आकस्मिक बाढीको मध्यम जोखिम रहनसक्ने सम्भावना छ।


साथै, डडेल्धुरासँगै बैतडी, दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, अछाम लगायतका सुदूरपश्चिमका जिल्लाहरूमा बहने साना नदीहरूमा पनि बहाव बढ्ने चेतावनी दिइएको छ।
बाढी महाशाखाले आज बिहान कर्णाली र महाकाली नदीको बहाव सतर्कता तह नजिक रहेको जनाएको छ भने कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल भए पनि तीव्रगतिमा बढ्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
यस्तो अवस्थामा स्थानीयवासी, विशेषगरी खोला किनारमा बसोबास गर्ने समुदायहरू, कृषक, निर्माण कार्यमा संलग्न समूह, र स्थानीय तहलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।




