

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेका योगेश बोहरा र भरतबहादुर ऐरले पुरस्कारबापत प्राप्त १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
विपद्मा परेकाहरूको सहयोगका लागि भन्दै बोहरा र ऐरको जोडीले प्रतियोगिताबाट प्राप्त नगद पुरस्कार राहत कोषमा दिने निर्णय गरेको हो।

खेलकुदबाट प्राप्त पुरस्कारलाई सामाजिक सेवामा समर्पण गर्दै उनीहरूले मानवीय उदाहरण प्रस्तुत गरेका छन्।

आइतबार सम्पन्न फाइनल खेलमा बोहरा र ऐरको जोडी हरिओम केसी र निरज मल्लको जोडीसँग सोझो सेटमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
उपविजेता बनेसँगै बोहरा र ऐरले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।
उनीहरूले नगद पुरस्कार भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
प्रतियोगिताको उपाधि जितेको केसी र मल्लको जोडीले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
जिल्ला खेलकुद समिति डडेल्धुराकाे आयोजनामा भएको प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

