बोहरा मेडिको सेन्टर

लम्कीचुहा अस्पतालमा मेयरले गरिन् मेसुको काज फिर्ता

dream cafe
learnar

कैलाली : कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा नगर प्रमुख सुशीला शाहीको पटक–पटकको उपस्थितिलाई लिएर अस्पतालभित्र विवाद बढेको छ। अस्पतालको प्रशासनिक कामकारबाहीमा नगर प्रमुखको हस्तक्षेप बढेको आरोप लगाउँदै कर्मचारी तथा स्थानीयहरुले प्रश्न उठाएका छन् ।

अस्पतालको जिम्मेवारी सम्हालिरहेका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कमलेश यादवलाई काज फिर्ता गर्ने निर्णय भएपछि विवाद थप चर्किएको बताइन्छ । अस्पताललाई व्यवस्थित बनाउने र सेवा विस्तारमा सक्रिय रहेका मेसुलाई कामको मूल्याङ्कन गर्ने समयसमेत नदिई काज फिर्ता गरिएकोमा धेरैले असन्तुष्टि जनाएका हुन् ।

CNA

नगर प्रमुख शाही प्रादेशिक अस्पतालको कार्यालयमा हिजो पुगेर मेसुलाई ‘तपाईंको काज फिर्ता भयो’ भन्दै पत्र देखाउँदै कार्यालयबाट निस्कन आग्रह गरेको आरोप छ । ‘किन बस्नुभएको छ ? तपाईं निस्कनुस् यहाँबाट । अफिस बनाउने भए आफ्नो छुट्टै अफिस बनाउनुस्’ भन्दै मेसुलाई कार्यालयबाट निकालिएको अस्पताल कर्मचारीको दाबी छ ।

अस्पतालको एमओईमा आफूले हस्ताक्षर नगरेको भन्दै नगर प्रमुखले असन्तुष्टि जनाउँदै घुर्की लगाएको आरोपसमेत छ । नगर प्रमुखको यस्तो व्यवहारले अस्पताल प्रशासन र कर्मचारीमाथि दबाब सिर्जना भएको जनाउँदै आलोचना भइरहेको छ।

Bohora ma 1

 प्रादेशिक अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको अवस्थामा प्रशासनिक नेतृत्वलाई स्थिर रूपमा काम गर्ने वातावरण दिनुपर्नेमा उल्टै विवाद र हस्तक्षेप बढेको भन्दै स्थानीयले प्रश्न उठाएका हुन् ।

अस्पतालको सेवा विस्तार र व्यवस्थापनमा सक्रिय रहेका कर्मचारी तथा चिकित्सकलाई काम गर्ने वातावरण नदिँदा त्यसको प्रत्यक्ष असर सेवाग्राही नागरिकमा पर्ने उनीहरूको भनाइ छ।  उक्त विवादमा निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद केपी खनालको भूमिकामाथिसमेत प्रश्न उठाइएको छ।

खनालले यसअघि प्रतिनिधिसभा बैठकमा लम्कीचुहा अस्पतालको विषय उठाउँदै नेपाली कांग्रेस तथा स्थानीय÷प्रदेश सरकारमाथि प्रश्न गरेको र अस्पताल बन्न नदिएको आरोप लगाएका थिए । अहिले मेसुको काज फिर्ताको विषयमा पनि उनको धारणा खोजिएको छ।

अस्पतालको नेतृत्व परिवर्तनले सेवामा पार्ने असरबारे संघीय स्वास्थ्य मन्त्रालयसँग सांसद खनालले प्रश्न गरेका छन् कि छैनन् ? काज फिर्ताको निर्णयको कारण र औचित्यबारे सरकारसँग जवाफ मागिएको छ कि छैन ? स्थानीयले यी प्रश्न उठाएका हुन् ।

एकजना स्थानीयको आक्रोश छ, ‘सांसदले सरकारको पक्षमा बोल्नुपर्छ भन्ने होइन, विपक्षमा बोल्नुपर्छ भन्ने पनि होइन, जनताको पक्षमा बोल्नुपर्छ ।’ स्थानीयस्तरबाट उठेको प्रश्न छ, ‘कसैको पक्षमा होइन, अस्पतालको पक्षमा, कुनै व्यक्तिको पक्षमा होइन, स्वास्थ्य सेवाको पक्षमा र कुनै पार्टीको पक्षमा होइन, लम्कीचुहा र आसपासका हजारौँ नागरिकको पक्षमा बोल्ने बेला यही हो।’

मेसुको काज फिर्ता, नगर प्रमुखको अस्पताल प्रवेश र त्यसपछि उत्पन्न विवादले लम्कीचुहा प्रादेशिक अस्पतालको प्रशासनिक स्थिरता तथा राजनीतिक हस्तक्षेपको विषय फेरि सतहमा आएको छ। अब विवादको केन्द्रमा व्यक्ति नभएर अस्पतालको सेवा र त्यसको व्यवस्थापन कसरी स्थिर बनाउने भन्ने प्रश्न मूल हुन पुगेको छ ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.