अपमानको घाउ बोकेका देउवा, नैनसिंहका लागि भोट माग्न नआउने

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नैनसिंह महरका लागि भोट माग्न नआउने भएका छन्।

देउवाको सचिवालयले उनी कुनै पनि चुनावी सभा, कार्यक्रम वा अभियानमा सहभागी नहुने स्पष्ट पारेको छ।

Amargadhi Education

केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो।

‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भनेको छ।

यससँगै महरका लागि देउवा स्वयं मैदानमा उत्रेर भोट माग्ने सम्भावना लगभग समाप्त भएको छ।

देउवा यसपटक अन्तिम पटक आफैं चुनाव लड्न चाहन्थे। तर, विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेसँगै टिकट नपाएपछि देउवा असन्तुष्ट बनेका हुन्।

देउवाको बुझाइमा नैनसिंहले ‘चिट’ गरेर टिकट ल्याएको आशंका समेत रहेको बताइन्छ।

डडेल्धुरामा महरलाई कार्यकर्ताले बारम्बार सोध्ने प्रश्न हुन्छ, ‘शेरबहादुर दाइले पठाएको हो?’ महर भने आफूलाई देउवाको उत्तराधिकारीका रूपमा पठाइएको दाबी गर्छन्।

अजयमेरु फाैजी केरा

यसै कारण उनले चुनावी पोस्टरमा देउवाको फोटो राखेका छन् भने ‘देउवा दाइले नैनसिंहलाई खटाए, संघको चुनाव’ भन्ने बोलको चुनावी गीतसमेत बनाइएको छ।

तर, पार्टीभित्र कार्यकर्ताहरू अझै विश्वस्त देखिएका छैनन्।

देउवाले डडेल्धुरामा पाइला टेकिदिए जित सुनिश्चित हुने र ‘चिट’ ल्याएर टिकट पाएको भ्रम चिर्न सकिने बुझाइमा महर देउवासँग भेट्न पुगेका थिए। तर, देउवाले उनलाई भेट नै नदिएको स्रोतको दाबी छ।

अहिले पनि महर देउवा निकट नेताहरू मार्फत उनलाई फकाउने प्रयासमा छन्। तर, देउवालाई भेट्नेहरु भन्छन्, ‘महरको विषयमा देउवा दाईले मन दुखाएका छन्।’

माघ ५ गते रातिसम्म टिकट पाउने आशामा रहेका देउवाले टिकट नपाएपछि चुनाव नलड्ने सूचना बाहिर ल्याएर ड्यामेज कन्ट्रोल गरेको चर्चा पनि चुलिरहेको छ।

देउवाको चासो नपाएपछि महर कांग्रेस विपी समूहसँग मिलेर चुनाव जित्ने रणनीतिमा लागेका छन्। सोही क्रममा उनले कर्ण मल्ललाई समेत भेटेका थिए।

तर, विगतमा जिल्लामा कांग्रेस फुटाउन महरकै भूमिका रहेको आरोपका कारण कांग्रेस विपी समूहका नेता–कार्यकर्ता पनि महरसँग सशंकित छन्।

डडेल्धुरामा नेपाली कम्युनिष्ट पार्टीका मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीले नैनसिंह महरलाई कडा चुनौती दिइरहेका छन्।

तर, महर भने जिल्लामा आठौं पटक कांग्रेसलाई हराउन ताकत दुनियाँमा कसैको नभएको धावा बोलिरहेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.