
डडेल्धुरा : शैल्यशिखर नगरपालिकामा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माण गर्दा सम्झौताबमोजिम काम नगरेको तथा बोयर जातका बोकासहित बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईको आधारमा भुक्तानी दिइ भ्रष्टाचार गरिएको पुष्टि भएको छ।



उक्त प्रकरणमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टसमेत ८ जना प्रतिवादी रहेका छन्।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै रु. २३ लाख ५७ हजार बराबरको बिगो कायम गरी कैद तथा बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न मागदाबी लिई मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।



