
डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनको टिकट पाउने दाउमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेको खुलेको छ।
भेटका क्रममा बालेन शाहले सागर ढकाल डडेल्धुराबाट चुनाव लड्ने बताएका छन्।

बालेनका अनुसार गत निर्वाचनमा डडेल्धुराबाट धेरै मत ल्याउने उम्मेदवार सागर ढकाल नै थिए।
सागर ढकालले चाहेको खण्डमा अन्तैबाट पनि चुनाव लड्न सक्ने उनको तर्क छ।
यसअघि पनि बालेनकै कोटाबाट सागर ढकाल रास्वपाको केन्द्रीय सदस्य बनेका थिए।
पार्टीको औपचारिक निर्णय आउनुअघि नै वरिष्ठ नेताबाट उम्मेदवारको संकेत पाएपछि ढकाल खुसीले गदगद बनेको बताइन्छ।
अघिल्लो पटक पनि डडेल्धुराबाट उम्मेदवार बनेर प्रतिस्पर्धा गरिसकेकाले ढकाललाई ‘टुरिस्ट उम्मेदवार’ भन्न नमिल्ने बालेन शाहको भनाइ छ।
यसपटक सरकार बनाउने सम्भावना बोकेको पार्टीको उम्मेदवार बने स्वतः जित हासिल हुने अपेक्षा बालेनले व्यक्त गरेका छन्।
ढकाललाई संकेत गर्दै बालेन शाहले भनेका छन्,
‘उहाँले डडेल्धुराबाट टिकट पाउने हो कि होइन भन्नेमा कन्फ्युजन होइन। कन्फ्युजन त रास्वपाले डडेल्धुराको उम्मेदवार सागर ढकाल पाउने हो कि होइन भन्नेमा मात्रै हो। उहाँ पार्टीका तर्फबाट फिक्स्ड हो, उहाँ आफैँले नाइँ नभनेसम्म। भोलि डडेल्धुराबाट उठ्दिन, अन्तै जान्छु भन्नु भएन भने उहाँ नै डडेल्धुराको उम्मेदवार हो।’

तर बालेनको यो दाबी विपरीत डडेल्धुरामा भने सागर ढकालप्रति चर्को असन्तुष्टि देखिएको छ।
रास्वपा डडेल्धुरा नै उनलाई स्वीकार गर्न तयार नभएको बताइन्छ।
ढकालले अघिल्लो निर्वाचनमा डडेल्धुरामा आएर आश्वासन मात्रै दिएको आरोप छ।
जेन्जी आन्दोलनका दिन ढकाल डडेल्धुराबाट लखेटिएको थिए।
गत निर्वाचनका बेला कोठा भाडामा लिएर बसे पनि हारेपछि पैसा नतिरी सम्पर्कविहीन भएका थिए।
भाडा नतिरेको विषय मिडियामा बाहिरिएपछि मात्रै भाडा तिरेको उनीहरूको दाबी छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै दोस्रो स्थानमा रहेपछि ढकाल डडेल्धुरा नफर्किएको र त्यसबेला उनलाई सहयोग गरेका धेरै अहिले रुष्ट छन्।
यही कारण यसपटक ढकाल डडेल्धुरा आए बहिष्कार गर्ने र लखेट्ने चेतावनीसमेतका स्वर सुनिन्छन्।
डडेल्धुरामा बाहिरबाट आयातित उम्मेदवार स्वीकार नगर्ने र यताकै माटोबाट उठेको उम्मेदवार चाहिने अडान बलियो बन्दै गएको छ।
रास्वपा डडेल्धुराका पूर्व जिल्ला सचिव राजेन्द्र ऐरले पनि बन्द कोठाभित्र बसेर उम्मेदवार नतोक्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्।
बालेनले सागर डडेल्धुराको उम्मेदवार भनेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालेनलाई न त भूगाेल थाहा छ, न त भूगाेलसंग जाेडिएका जनता र पार्टिसंग जाेडिएका समर्थकहरुकाे चाहना नै।’



