गन्यापधुरामा निर्माणाधीन गौशालाको अनुगमन, पालिका अध्यक्ष कार्की भन्छन् : थप व्यवस्थापन गर्दै लैजान्छाैं


डडेल्धुरा : गन्यापधुरा गाउँपालिका–५ को गुयलीखान लेकमा निर्माणाधीन गौशालाको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीको नेतृत्वमा अनुगमन गरिएको छ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष ग्यानु सेटी देउवा, सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, दीपायलको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको उक्त गौशाला हालसम्म पूर्णरूपमा सम्पन्न हुन सकेको छैन।


अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष कार्कीले हालका लागि पशुचौपाया हेरालु बस्ने घर निर्माणका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिँदै आगामी दिनमा थप व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
महाभारत लेक क्षेत्रमा अवस्थित पवित्र गन्याप देवताको बासस्थान रहेको रमणीय स्थलमा दर्शनार्थीहरूका लागि भजन–कीर्तन गर्न धुनी घरसमेत निर्माण गरिने अध्यक्ष कार्कीले बताए।
लामो समयदेखि हिन्दु सनातन धर्म तथा गौ संरक्षणमा सक्रिय तिलक हमालले दूध दिन छाडेपछि गाईहरूलाई सडक तथा जंगलमा छाड्ने प्रवृत्तिका कारण गौवंश संरक्षणका लागि गौशाला निर्माणको आवश्यकता देखिएको बताए।
यसैबीच, पशुचौपायाका लागि आवश्यक घाँसको व्यवस्थापनमा यथासक्य सहयोग गर्ने पशु तथा भेटेरिनरी अस्पताल डडेल्धुराका प्रमुख देवराज भट्टले प्रतिबद्धता जनाए।
अनुगमनकै क्रममा कमल सिंह ठगुल्लाको अध्यक्षतामा सात सदस्यीय निर्माण तथा संरक्षण समिति गठन गरिएको छ।


