
डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षभित्रै आक्रमण तथा दुर्व्यवहार भएको घटनाप्रति अध्यक्ष ओझाले निन्दा र खेद व्यक्त गरेका छन्।
बुधबार दिउँसो अस्पताल विकास समिति अध्यक्षको हैसियतमा कार्यकक्षमै आफू माथि आक्रमण र दुर्व्यवहार भएको उनको भनाइ छ।

सुदूरपश्चिमका पहाडी जिल्लाका गरिब तथा विपन्न नागरिकहरूको स्वास्थ्य उपचारको भरोसाको केन्द्र बनेको डडेल्धुरा अस्पताललाई लक्षित गर्दै राजनीतिक आवरणमा आधारहिन आरोप लगाई पवित्र संस्थालाई बदनाम गर्ने उद्देश्यले यस्ता घटनाहरू गरिएको अध्यक्ष ओझाले आरोप लगाए।
उनले यस्ता क्रियाकलापले अस्पतालको संस्थागत विकासमा गम्भीर अवरोध सिर्जना हुने स्पष्ट पारे।

अस्पतालमा संस्थागत रूपमा कुनै गल्ती प्रमाणित भए कानुनी दायराभित्र रहेर कारबाही भोग्न तयार रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले अस्पतालसँग सम्बन्धित विषयमा प्रमाणसहित गोलबद्ध छलफलका लागि आफू सधैं तयार रहेको बताए। तर प्रमाणहिन आरोप, मिडिया ट्रायल र कानून हातमा लिने किसिमको उद्दण्ड व्यवहारले अस्पतालका कर्मचारीहरू समेत हतोत्साहित भएको उनको भनाइ छ।
घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानून बमोजिम कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय र स्थानीय प्रशासनसँग अस्पताल परिवारले जोडदार माग गरेको छ।
अध्यक्ष ओझाले डडेल्धुरा अस्पताल विकास समिति गठन आदेशअनुसार अध्यक्ष पदमा कुनै पनि प्रकारको आर्थिक अख्तियारी नरहेको विषय आम सर्वसाधारणलाई स्पष्ट पार्दै आर्थिक लेनदेन, खरिद, निर्माण तथा कोष सञ्चालनसम्बन्धी सबै अधिकार नेपाल सरकारले तोकिएका अधिकारीमार्फत हुने जानकारी दिए। अध्यक्षको भूमिका नीति निर्माण र सरोकारवाला निकायसँग समन्वय गर्ने मात्र रहेको उनले बताए।
अस्पतालको सेवामा परेको अस्थायी अवरोध कर्मचारीको मनोबलमा परेको नकारात्मक असरका कारण भएको उल्लेख गर्दै अध्यक्ष ओझाले बुधबार अपराह्न २स्०० बजेदेखि अस्पतालका सेवा पुनः नियमित सञ्चालनमा आएको जानकारी दिए।
अन्त्यमा उनले डडेल्धुरा जिल्लाको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने विषयमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको भन्दै कुनै पनि आपराधिक गतिविधिले विकासको यात्रालाई रोक्न नसक्ने स्पष्ट पारे।




