परशुरामका कृषकको खेतमा गहुँको सट्टा आलुनै आलु

dream cafe
learnar

डडेल्धुरा : पहिले गहुँ लगाएर वर्षमा झण्डै २० हजार रुपैयाँ आम्दानी हुन्थ्यो। तर, गतवर्ष आलु लगाउँदा डेढ लाख रुपैयाँसम्म आम्दानी भयो। यही अनुभवपछि परशुराम नगरपालिका–५ परिगाउँकी लक्ष्मी खड्काले भनिन्, ‘अब हाम्रो भविष्य आलु नै हो।’

लटिनाथ कृषि, पशुपन्छी तथा कृषक समूहकी कोषाध्यक्ष खड्काले गतवर्ष १० क्विन्टल आलु रोपी चकित पार्ने आम्दानी गरिन्। यस वर्ष उनले झन् उत्साहित हुँदै १२ क्विन्टल आलु रोपेकी छिन्।

Arthik

उनको उत्साहमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतको ‘आलु सुपर जोन’ले थप ऊर्जा भरेको छ। सुपर जोनमार्फत तालिम, बीउ र प्राविधिक सहयोग पाएकी उनी आगामी वर्ष आलुखेती अझ विस्तार गर्ने तयारीमा छिन्।

२०७७ सालमा गठन गरिएको उक्त समूहमा १८ जना कृषक छन्, जसमा ४ पुरुष र बाँकी सबै महिला छन्। समूहले ७५ रोपनी क्षेत्रफलमा आलुखेती विस्तार गरिसकेको छ।

अध्यक्ष सुरेन्द्रबहादुर बोहरा भन्छन्, ‘समूहका सदस्यले ७५ क्विन्टल आलु रोपेका छन्, जसमा १५ क्विन्टल बीउ आलु मात्रै हो। एक क्विन्टल बीउबाट १०–१२ क्विन्टलसम्म उत्पादन हुन्छ, यसले किसानको उत्साह झनै बढाएको छ।’

गहुँ लगाउँदा एक क्विन्टल मात्रै फल्ने ठाउँमा आलु ८ क्विन्टलसम्म फलिरहेको उनले बताए। तर, भारतसँग सीमा जोडिएको परिगाउँमा आलुको सिजनमा भारतबाट सस्तो आलु भित्रिने भएकाले किसान मारमा पर्ने गरेको गुनासो पनि उनले सुनाए।

प्रमाणित बीउ प्रयोग गर्न सके उत्पादन र गुणस्तर दुवै उत्कृष्ट हुने उनको भनाइ छ। किसानले अर्को चुनौती पनि औंल्याएका छन्, कोल्ड स्टोरको अभाव।

‘नगरपालिकाले तीन रुपैयाँ सहयोग त गर्छ। तर, उत्पादन सदरमुकाम लैजान–ल्याउन खर्चिलो हुन्छ। यतै कोल्ड स्टोर भए धेरै सहज हुन्थ्यो,’ बोहोरा भन्छन।

परशुराम नगरपालिका–१ सलोनकी कविता बोहराको अनुभव पनि उस्तै छ। उनी ‘जैविक एवं शुद्ध नस्ल पशुपन्छी पालन, अन्न तथा तरकारी कृषक समूह’की अध्यक्ष हुन्।

HARDIK AGRo NEw

पाँच वर्षदेखि आलुखेती गर्दै आएको उनले सुनाइन्। ‘पहिले सबै गहुँ लगाउँथ्यौं। अहिले गहुँभन्दा आलु फाइदाजनक छ। म १५ क्विन्टल आलु लगाउँछु, आलु बेचेर गहुँ किन्छु, छोराछोरीको खर्च पनि यहीबाट चल्छ।’ उनले भनिन्।

उनका समूहले यस वर्ष ४ सय क्विन्टल आलुको बीउ रोपेको छ।

परम्परागत अन्य खेतीभन्दा आलुखेतीबाट नगद रुपैयाँ आयआर्जन गर्न सकिने भएकोले कृषकहरु आलुखेतीतर्फ आकर्षित भएको कृषक केशवराज अवस्थीले बताए। विभिन्न सरकारी निकाय, आलु सुपर जोन र स्थानीय तहको सहयोगले खेती विस्तार गर्न सहज भएको उनको भनाइ छ।

‘यहाँ हिउँदे आलु मात्रै उत्पादन हुन्छ, मैले वार्षिक करिब १० क्विन्टल बीउ रोपेर चार लाखभन्दा बढी आम्दानी भइरहेको छ,’ उनले भने।

परशुराम नगरपालिका–१२ खजुरानीका मानबहादुर भण्डारीले यस वर्ष मात्रै २० क्विन्टल बीउ आलु रोपेका छन्।

‘अहिले वार्षिक ६ लाखसम्म आम्दानी छ। बीउ उत्पादन बढाएर १० लाखमा पु¥याउने लक्ष्य छ,’ उनले भने। विभिन्न कार्यालय र आलु सुपर जोनको सहयोगपछि बीउ उत्पादन, बिक्री तथा भण्डारण सहज भएको समेत उनले बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतका अनुसार डडेल्धुरामा बर्खे र हिउँदे गरी दुई सिजनमा आलु उत्पादन हुँदै आएको छ।

परशुराम क्षेत्रमा मुख्यतः हिउँदे आलु उत्पादन हुन्छ। ‘खाने आलुभन्दा बीउ आलुको मूल्य स्वाभाविकरूपमा दोब्बर हुन्छ। त्यसैले यसले किसानलाई प्रत्यक्ष आर्थिक फाइदा पु¥याइरहेको छ,’ बस्नेत भन्छन्।

उनका अनुसार बीउ प्रमाणीकरण, रोग–कीरा व्यवस्थापन, उत्पादन विस्तार र बजार व्यवस्थापनका लागि निरन्तर तालिम तथा सहयोग भइरहेको छ। सुदूरपश्चिम मात्र होइन, देशका अन्य प्रदेशमा पनि डडेल्धुराको प्रमाणीकरण गरिएको बीउ आलुको माग उच्च छ।

डडेल्धुरामा हाल ११२२ हेक्टर क्षेत्रमा आलुखेती भइरहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.