गोठमा जन्मिएको उज्यालो र हाम्रो आधुनिक घरको अन्धकार

dream cafe
learnar
  • सागर ताम्राकार

आज धेरैपछि मनमा धेरै प्रश्नहरू उब्जिरहेका छन्। मन भारी छ, प्रश्न धेरै छन्, तर उत्तर शून्यजस्तै। ख्रिष्टमस नजिकिँदै गर्दा, हामीले फेरि एकपटक इतिहासको साँघुरो गोठतिर फर्केर हेर्न आवश्यक छ, जहाँ सृष्टिकर्ताको पुत्र येशू ख्रीष्टको जन्म गाईको गोठको भुइँमा, सामान्य तर अनन्त प्रेमको नजिकतम बिन्दुमा भएको थियो। बाइबल भन्छ, ‘किनभने तिनीहरूका निम्ति ठाउँ थिएन।’ (लूका २ः७)।

Bohora madico

आज हामी आफ्ना घरहरू झलमल बत्ती, चम्किला तारा, आधुनिक स्पिकरका धुन, गितार–मादल र सामाजिक सञ्जालमा पोस्ट गरिने खुसीका तस्बिरहरूले सजाउँछौँ। तर छातीमा हात राखेर एकपटक प्रश्न गरौँ, के हाम्रो घर बेथलेहेमको गोठभन्दा साँच्चिकै फरक छ?

गोठमा त कम्तीमा ईश्वरकै उपस्थिति थियो। प्रेम, विनम्रता र शुद्धता थियो। तर हाम्रो आधुनिक घरभित्र कतै स्वार्थ, प्रतिस्पर्धा, आत्ममोह र क्षणिक प्रदर्शनको चहलपहल मात्र त छैन? ख्रिष्टमसको सार गोठमा जन्मिएको विनम्रतालाई घरमा फर्काउनु हो। तर, हामीले त्यो सार सजावटका रिबनभित्र हराइदिएका छौँ।

गोठको वातावरण कठोर थियो। चिसो, पशुहरूको गन्धले भरिएको र मानवीय सुविधाविहीन। तर त्यही गोठमा स्वर्गदूतहरूले घोषणा गरे, ‘नडराओ, किनभने हेर, म तिमीहरूलाई ठूलो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ।’ (लूका २ः१०)

आज हाम्रो घरमा तातो कार्पेट, आरामदायी सोफा, इन्डक्शन चुल्हा र रूम हिटर छन्। तर, हर्ष किन छैन? किन घरभित्र विवाद, मतभेद, उपेक्षा, टाढापन, छटपटी र असन्तोष फैलिएको छ? प्रगतिको नाममा हामीले मनभित्रको न्यानोपन हराइदिएका छौँ; सेवा र करुणाको भावना कम गरिदिएका छौँ।

ख्रिष्टमसको तयारीमा हामी बजार दौडिन्छौँ, तर हृदय सफा गर्न बिर्सन्छौँ। गोठमा येशूलाई थाम्ने हात गरिब तर पवित्र थिए। तर, हाम्रो घरमा कहिलेकाहीँ अनावश्यक व्यस्तता, देखावटी संस्कृति र भौतिकताले हृदयका ढोकाहरू बन्द गरिदिन्छन्।

HARDIK AGRo NEw

आजको समाज हेर्ने हो भने गोठको कथा अझै जिउँदै छ। सडकछेउ चिसो रात बिताउने बालबालिका, उपचारविहीन बुबाआमा, परदेशमा अलपत्र परेका परिवार, दैनिक पेट पाल्न संघर्षरत श्रमिक र जीवनसँग जुधिरहेका युवाहरू। तिनीहरू आधुनिक बेथलेहेमका गोठहरू हुन्।

येशूले भन्नुभयो, ‘म भोकाएको थिएँ। तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ, म परदेशी थिएँ। तिमीहरूले मलाई आश्रय दियौ।’ (मत्ती २५ः३५)

त्यसैले ख्रिष्टमस केवल जन्मोत्सव होइन। यो सेवा, दया र माया नगर्नेहरूलाई समेत अँगाल्ने क्षण हो। ख्रीष्टले गोठ रोज्नुभयो ताकि सबै तहका मानिसले उहाँलाई निर्भीक भेट्न सकून। तर, हामीले कहिलेकाहीँ ख्रिष्टमसलाई केवल सम्पन्न, सजिएको र निमन्त्रणापत्र चाहिने कार्यक्रमजस्तै बनाइदिन्छौँ।

आज हाम्रो घरमा सबै सुविधा भए पनि के त्यहाँ येशूका लागि ठाउँ छ? के हाम्रो व्यस्ततामा उहाँका लागि केही मिनेट खुला छन्? के हाम्रो हृदयमा क्षमाका लागि स्थान छ? आज हामी नम्रता गुमाउँदै गइरहेका छौँ। ख्रिष्टमसका गीतहरू लाउड स्पिकरमा बज्छन्। त, एकआपसमा माफी माग्ने कान बन्द भएका छन्। हामी घर सजाउँछौँ, तर मन सजाउने अभ्यास कम छ।

ख्रिष्टमसको वास्तविक प्रश्न यही हो, गोठ र हाम्रो घरबीचको फरक सुविधा होइन, हृदयको अवस्था हो। गोठमा सादगी थियो; हाम्रो घरमा जटिलता। गोठमा मौनता थियो। हाम्रो घरमा हल्ला। गोठमा स्वर्गीय उपस्थिति थियो, हाम्रो घरमा प्रविधिको, तर आध्यात्मिकताको कमी। गोठले संसारलाई उद्धारकर्ता दियो; तर हाम्रो घरले आशा, क्षमा, शान्ति र सेवा दिन सकेको छ कि छैन। यही नै सबैभन्दा ठूलो प्रश्न हो।

यस वर्षको ख्रिष्टमसमा सम्भवतः सबैभन्दा महत्वपूर्ण निम्तो यही हो, आफ्नो भित्री घरलाई बेथलेहेमको गोठझैँ विनम्र, खुला, प्रेमी र स्वीकार गर्ने बनाउने। बाहिर चिसो हावा चलिरहला; राजनीति अविश्वासले भरिएको होला। समाज विभाजनले मथिंगल परेको होला।

युवाहरू बेरोजगारी र निराशामा डुब्दै होलान् परिवारहरू आफ्नै समस्याको अन्धकारमा अल्झिँदै होलान्। तर, गोठभित्र जन्मिएको उज्यालोले आज पनि यही भन्छ, ‘अन्धकारले उज्यालोलाई जित्दैन।’ (यूहन्ना १ः५)

ख्रिष्टमसको गहिरो अर्थ अन्ततः यही हो, आफ्नो घरमा केवल बत्ती होइन, उज्यालो ल्याउने। के हामी तयार छौँ?

लेखक,  ताम्राकार रेडियो आफ्नो एफएम, डडेल्धुराका स्टेशन म्यानेजर हुन्

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.