
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३, चम्सालमा शुक्रबार गाउँस्तरीय कृषि समस्या पहिचान बैठक सम्पन्न भएको छ।
कार्यक्रम कृषि अनुसन्धान निर्देशनालय, दिपायल डोटीको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा निर्देशनालयका प्राविधिक अधिकृत नवराज भट्टले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न अनुसन्धानमूलक कार्यहरू सञ्चालन हुँदै आएको जानकारी दिए।

हाल निर्देशनालयमा २० दरबन्दीमध्ये १० जना मात्रै प्राविधिक कार्यरत रहेको र सुदूरपश्चिमका ९ जिल्लाको जिम्मेवारी एकमात्र कार्यालयले सम्हाल्नु परेको बाध्यता रहेको उनले बताए।
उनले बालीको उत्पादन राम्रो वा कमजोर भए अनुसार सिफारिस गरिने जानकारी गराउँदै, बैठकमा उठेका विषयहरू संकलन गरी नीति तथा कार्यक्रम निर्माणका लागि माथिल्लो निकायमा प्रतिवेदन पठाइने बताए।

बैठकमा कृषकहरूले आफ्नो भोगाइका आधारमा विभिन्न समस्याहरू उठाएका थिए।
अमरगढीकी कृषक सुनिता बोहाराले १० रोपनी जग्गामा निर्देशनालयले दिएको खुमल–१२ जातको धान रोप्दा चामल नलागी भुस मात्रै भएको गुनासो गरिन्।
त्यसैगरी, कृषक यादव कठायतले बीउको गुणस्तरमा समस्या देखिएको र किसानहरू बिउमै ठगिने अवस्था रहेको बताए।
मूल बिउ पाउन कठिन हुने र उचित प्राविधिक सहयोग नपाएको उनले गुनासो गरे।
बैठकमा धन, गहुँ, मकै, कोदो, तरकारी, फलफूल तथा पशुपालनसम्बन्धी समस्या र समाधानका विषयमा कृषकहरूसँग प्रत्यक्ष छलफल गरिएको थियो।
कृषि अनुसन्धान निर्देशनालयका निर्देशक दीपक पाण्डेयले खुमल–४ जातको धानमा रोगको प्रकोप बढी देखिएपछि त्यसको सट्टामा खुमल–१२ र खुमल–१६ नामक नयाँ जातहरू सिफारिस गरिएको जानकारी दिए।
कृषकबाट संकलित सुझाव, गुनासो तथा समस्या समाधानका उपायहरू समेटेर आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने उनले जानकारी दिए।




