जाँदाजाँदै डीएसपी श्रेष्ठले सार्वजनिक गरे डडेल्धुराको एक वर्षे कार्यकालका उपलब्धि
अपराध नियन्त्रणदेखि सामुदायिक प्रहरी अवधारणासम्म


डडेल्धुरा : डडेल्धुरामा एक वर्ष कार्यरत रहेर हाल कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखामा सरुवा भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।
शनिबार पत्रकार सम्मेलनमार्फत उनले अपराध नियन्त्रणदेखि सामुदायिक प्रहरी अवधारणासम्मका गतिविधि प्रस्तुत गरेका हुन्।

श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यालयले १९० मुद्दा दर्ता गरेको थियो। तीमध्ये ११८ फच्र्यौड भएका थिए भने ९० मुद्दा बाँकी रहेका छन्। यो अघिल्लो वर्षको तुलनामा ७० मुद्दा अर्थात् ५८.३ प्रतिशतले बढी हो।
चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म मात्र ३७ मुद्दा दर्ता भएको छ, जसमा १४ फच्र्यौड भइसकेका छन्।
लागूऔषध नियन्त्रणमा गत वर्ष ११ मुद्दा दर्ता भई १५ जना पक्राउ परेका थिए। यस वर्ष हालसम्म २ मुद्दा दर्ता भई ४ जना पक्राउ परेका छन्।

फरार प्रतिवादी पक्राउ अभियानमा पनि उल्लेख्य उपलब्धि हासिल भएको उनले जानकारी दिए। गत वर्ष १८६ मध्ये ९४ जना फरार पक्राउ गरी ५२ वर्षभन्दा बढी कैद सजाय र करिब ४७ लाख रुपैयाँ जरिवाना कार्यान्वयन भएको थियो।
चालु वर्षमा भने २९ जना फरार पक्राउ गरी ३ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन भएको छ। यस उपलब्धिका कारण जिल्ला अदालत डडेल्धुराले प्रहरी कार्यालयलाई सम्मानसमेत गरेको थियो।
श्रेष्ठको कार्यकालमा डडेल्धुराका केही चर्चित अपराध प्रकरण सुल्झिएका छन्। अमरगढी–७ की आरती भट्टराई हत्या, गन्यापधुराकी खिमादेवी भुल हत्या, अमरगढी–३ की अस्मिता थापा मगर हत्या र शीर्ष साना किसान कृषि सहकारी संस्थामा भएको चोरी घटनाको अनुसन्धान उनको नेतृत्वमै सम्पन्न भएको हो।
अपराध नियन्त्रणसँगै उनले सामुदायिक प्रहरी अवधारणामा पनि जोड दिएका थिए। ११४८ वटा सामुदायिक कार्यक्रममार्फत करिब २४ हजार नागरिक प्रत्यक्ष लाभान्वित भएको प्रहरीले जनाएको छ।
पीडित परिवारसँग पुनः सम्पर्क, वित्तीय साक्षरता, विद्यार्थी–प्रहरी भेटघाट, थुनुवासँग परामर्श सेवा, सडक सुरक्षा तालिम र अरिङ्गाल जोखिम न्युनिकरणजस्ता गतिविधि सञ्चालन गरिएको थियो।
चालु वर्षमा तुफानडाँडामा जोर–विजोर पार्किङ प्रणाली, सेवाग्राही प्रतिक्षालय, नयाँ प्रहरी पोष्ट स्थापना, अभिभावक–प्रहरी भेटघाट तथा सचेतनामूलक होर्डिङ बोर्ड जस्ता कार्यक्रमलाई पनि उनले आफ्नो कार्यकालको उपलब्धि मानेका छन्।


