
डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ‘जोगेनी जाँत’ (मेला) यो वर्ष भदाैं २० गते हुँदैछ।
प्रत्येक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ यो क्षेत्रकै प्रसिद्ध मेला हो।

‘चौंसठ्ठी माता’ को रुप पनि परिचित यो मेला परापूर्वकालदेखि नै मनाइँदै आइएको हो।
कसरी भयो जोगेनी जाँत सुरु ?
यो जात्रा नागी मल्ल राजाका पालामा सुरु भएको विश्वास छ। त्यतिबेला साबिकको रुपाल गाविसको महाकाली नदी नजिकै जाख भन्ने गाँउ थियो।
सो गाउँमा ‘सुनी’ जातिको बसोबास थियो। उनीहरु महाकाली नदीमा माछा मार्ने गर्दथे। एक दिन त्यस गाँउका काका भतिज नाता पर्ने दुई जना माछा मार्न जाल लगेर महाकाली गएछन्।
उनीहरुले धेरै पटक जाल हाल्दा पनि साँझसम्म पनि माछा नपरेपछि उदास हुँदै छेउमा बसेछन्। माछा नलगेर घर कसरी जाने भन्दै केहि बेर बसेर फेरि जाल हाल्छन्।
जालमाथि तान्दा जाल झन डुब्न थाल्छ त्यो देखेर दुबै जना जाल तान्छन्। जाल पानी माथि ल्याउँदा त्यो जालभित्र कति बेला ठूलो माछा र कति बेला स–साना माछा देखिन थाले।
त्यस्तो देखेर उनीहरु अलमलमा परे र हतपत जाललाइ छेउकै बगरमा राखे। जालभित्र मान्छेकोअनुहार जस्तै कति बेला ठूलो माछा र कति बेला स–साना माछा देखिन थाले।
त्यस्तो माछा देखेर ती दुबै छक्क परे र भन्न थाले आज यी कस्ता माछा परे हाम्रो जालमा भनेर दुबै निरास भएछन्।
नजिकै घर भएकाले त्यो जालसहितको माछालाइ दुबै जना घिसार्दै तान्दै घरमा लगे। घर पुगेपछि त्यस माछालाई के गर्ने भनेर गाउँका सबैलाई बोलाएर छलफल गर्न थाले।
कोही गाँउले यसलाई काटेर खाउ भन्न थाले भने कोहि गाँउले यसलाई अजयमेरु दरबार लैजाऔं भन्न थालेछन्।
त्यो बेला अजयमेरुमा नागी मल्लको शासन रहेको बताइन्छ।
गाँउमा कुनै नयाँ घटना वा नयाँ वस्तु भेटिएमा दरबारमा लैजानु पर्ने चलन थियो। त्यसैले सबै गाँउले ती माछालाई जालसहित अजयमेरु दरबार लैजाने निर्णय गरे।
राति नै लैजानु पर्ने भएकाले गाँउलेहरु सबै मिली त्यो जालसहित नै बोकेर हिँड्न थाले। जादै गर्दा एउटा जालबाट निक्लेर भाग्छ।
रातभर हिँड्दा हिँड्दै बयलबाट भन्ने ठाँउमा पुग्दा त्यहाँ पनि जालबाट एउटा माछा निक्लेर भाग्छ।
त्यहाँबाट जाँदै गर्दा एउटा डाँडामा पुगेपछि थकान मेट्न एकछिन् बस्न थाले र जाल पनि छेउमै राखे। केहि छिन पछि उज्यालो भयो।
तिनीहरु हिँडौ भनेर जाल राखेको तिर गए तर त्यहाँ त जालभित्र ढुङ्गा थिए। त्यो देखेर र सबै जना आत्तिएछन् त्यसै बेला आकाश गर्जिएछ र पानी परेछ।
ती सुनीहरु डराउँछन्। यो के भयो ? कसरी भयो ? भनेर र सबै घर भाग्न थालेछन्।
यता पुरै रुपालमा अनर्थ र अशान्ति भएछ। कोही काम्न त कोहि पागल भएका थिए। यस्तो अनर्थ देखेर गाउँका सबै मिली धामीझाँक्री बोलाएर पञ्चमी गरेछन्।
पञ्चमीमा आएका सुनीहरु त्यो घटना बताएछन्। तर पनि कसैले पनि शान्त गर्न सकेनन्। पछि त्यहीँ रुपाल कोटेउडाको कर्लै देबताले शान्त पार्यो।
भनिन्छ, कर्लै देवतामा जोतिषि ज्ञान पनि भएकाले शान्त पार्न सकेका हुन्। कर्लै देवताले ती ढुगाँमा ‘जोगेनी माता’ र वीर (भूत) भएकाले तिनीहरूको राम्रो योगले पूजा गरेपछि शान्त हुने र यो पूजा प्रत्येक तीन वर्षमा गर्नुपर्ने हो भनेपछि यहाँ जाँत सुरु भएको बुढापाका बताउँछन्।
पूजामा दुई खुट्टे र चार खुट्टे जनावरको बली दिइन्छ। त्यो बेला कर्लै देवताले ‘जोगेनी माता’ र वीरहरुलाई शान्त पार्नको लागि भएको पञ्चमीमा जोगेनी माताले मानिसको रुपमा आइ यसरी पूजा खाने भनेकाले त्यहाँ पूजाआजाका साथै बलि चढाइन्छ।
पूजाआजा दलित समुदायले गर्दछन्
सबै गाउँलेहरु र कर्लै देवताको धामी जात्रा कुन दिन गर्ने भनेर बिरुडा पञ्चमीको साँझ कोटेउडाको देउथलीमा भेला हुने गर्दछन्।
स्थानीयकाअनुसार जात्राको दिन र नौर्ता बस्ने व्यक्ति तोकिन्छ। सो जात्रामा भने सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ।

जात्राको दिन तोकिएपछि गाँउबाट सार्की थरका र तिरुवा थरकाले पोखलो (पूजा गर्न चाहिने अन्न र अरु सामान) उठाउने काम गर्छन्।
जात्रा सुरु हुने केहि दिन अगाडि भागेका वीरहरुको पूजाआजा गरिन्छ।
जसलाई गाउँलेहरु ‘भैरव’ बाद्नु भन्छन्। जात्रा हुने एक दिन अगाडि गौरा बिसर्जन गरिन्छ। त्यसै दिन साँझ कोटेउडाको देवथलीमा ‘चौलो’ खेलिन्छ।
मेलामा ‘चौलो’ को रौनक
यो जात्राको दिन बिहानै सबै गाउँलेहरु खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्छन्।
मूल चौलो कोटेउडाको भएकाले सबैभन्दा पहिले अगाडि बढ्छ र पड चौलोसँग मिसिन्छन्।
पड र कोटेउडाको चौलो, पड चौलोको देवथली गोल्देउखलामा केहिबेर चौलो खेल्छन्।
त्यसपछि चौलो खेल्दा खेल्दै गन्तव्य स्थलमा पुग्छ। सबैभन्दा पहिले डमरु बजाइ सार्की, तिरुवा र सुनीहरु कुण्डमा पस्छन्।
त्यसपछि कुण्डमा चौलो पस्छ। ५–५ फन्का घुमेपछि त्यो चौलो (पडंकोटेउडा) नौतडीको चौलोलाई पछर्याउन जान्छ। पर्छ्याएपछि फेरि चौलो कुण्डमै प्रवेश गर्छ र चौलो खेल्छ।
केहि समय चौलो खेलेपछि त्यो चौलो (पडं कोटेउडा नौतडी) बिस्तडीको चौलो पर्छ्याउन जान्छ। चारवटै चौलो मिसिएपछि कुण्डमा चौलो खेल्छन्।
कतिबेला आधा चौलो बाहिर गएर खेल्छ भने कतिबेला पूरै चौलो बाहिर जान्छ। खेल्दा खेल्दै तल्ली रुपालको चौलो आइपुगेको खबर सुनेपछि त्यो चौलो (पड कोटेउडा नौतडी बिस्तडी) पर्छ्याउन जान्छ।
तल्ली रुपालको चौलो र पर्छ्याउन गएको चौलोको मिसिने ठाँउ भिरालो भएकाले धेरै मानिसहरु चिप्लिन्छन् पनि।
पाँच वटै चौलो मिसिएपछि कुण्डमा खुट्टा राख्नसम्म ठाउँ हुँदैन। त्यसमा पनि अधिकांश चौलो खेल्नेहरुसँग तरबार, खुकुरी, सिस्नुको हाँगा, काँडा भएको लौरी र नेजाध्वजा हुन्छन्।
कुण्डमा खेलिरहेको चौलोको आवाज, सिट्टि बजाएको आवाज र दमाहा (दाइन) को आवाजले त्यहाँको वातावरण मनमोहक हुन्छ।
हात हतियारसहित चौलो खेल्ने भएकाले चोटपटक पनि लाग्ने गर्दछ। चौलो खेल्दा खेल्दै लागेको चोटपटकलाइ जोगेनी माताको आर्शिवाद हो भन्ने जनविश्वास पनि रही आएको छ।
खेल्ने क्रममा कर्लै देवताको धामीलाई तिरुवाहरुले काँधमा राखीभित्र बाहिर घुमाउँछन्। घुमाउने बेलामा धामीले बाख्रालाई मुखले च्यापेको हुन्छ।
त्यसपछि पूजा विधि सुरु हुन्छ भने चौलो बाहिर जान्छ। उता सार्की र तिरुवाका महिलाहरु एकपल्टे रोटी पकाउँछन्।
कुखुरा र बाख्राको तीन बली सय चौसठ्ठी ढुङ्गामा
कुण्ड खाली भएपछि मसानको माटोले रेखा हालिन्छ र सालका पातला बिछ्याएर चामल अनि कालो मसी छरिन्छ।
त्यसपछि कुखुराको टाउको काटेर उडाइन्छ भने बाख्राको बली कुण्डको बीचमा तीन सय चौसठ्ठी ढुंगामा (तीन सय चौसठ्ठी वीरहरुको माथि) राखेर दिइन्छ।
र बाख्राको सबै खुन (रगत) तीन सय चौसठ्ठी ढुङ्गामा (तीन सय चौसठ्ठी वीरहरुको माथि) छरिन्छ।
त्यसपछि एकपल्टे रोटी ल्याएर त्यहाँ बिछ्याइएका पातलामा एक/एक गरी राखिन्छ। भित्र पूजा चल्दै गर्दा बाहिर गएको चौलोभित्र आउन धेरै प्रयास गर्छ तर सुनी जातीका मान्छेहरु आउन दिँदैनन्।
सुनीहरु चौलोभित्र न आओस् भनि सिस्नु, लौरि, तरबार, खुकुरी र घंघारुरुको हाँगाले प्रतिकार गर्छन्।
बलि दिइएको बाख्रालाई काटेर कलेजो र मासुका तीन सय चौसठ्ठी भाग बनाएर कुण्ड भित्रका तीन सय चौसठ्ठी ढुङ्गालाई (तीन सय चौसठ्ठी वीरहरुलाई) दिइन्छ।
अनि पूजाविधि सकिन्छ र कुण्डमा भएका रोटी उठाउँछन्। त्यसै बेला बाहिर गएको चौलो कुण्डमा पस्छ र दिन भरि चौलो खेलिरन्छन्।
बिहानदेखि साँझसम्म निरन्तर खेलिरहेका चौलोले दिनभर त्यहाँको वातावरण गुञ्जयमान बनाइरहेको हुन्छ। निरन्तर नरोकिने चौलोमा कतिबेला खेलपनि हाल्ने गरिन्छ।
दिनभरी खेल्दा खेल्दै यस जात्राको रमझममा यताउता घुम्न अतिनै मनमोहक लाग्छ। दिनमा पुरुषहरुको चौलो हुन्छ भने महिला देउडा खेल्छन्।
यो जात्रा विशेष गरी भाद्र महिनामा हुन्छ। दिनभर रमाइलो गरेर जात्रा सम्पन्न हुन्छ। अँध्यारो भएपछि वीरहरु चौलो खेल्ने भएकाले सबै जना आ–आफ्नो घर फर्कन्छन्।



