
डडेल्धुरा : डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्याैपानेको सरुवा भएको छ।
गृहमन्त्रालयले आज (मंगलबार) सीडीओ न्याैपानेको सरुवा गरेको हो।
डडेल्धुरामा सहसचिव दरबन्दी रहेपनि उपसचिव न्याैपाने सीडीओको रूपमा कार्यरत थिए।
उनको गृह मन्त्रालयमा सरुवा भएको हो। भने उनको ठाउँमा जिल्ला प्रशान कार्यालय गुल्मीमा कार्यरत जनार्दन गाैतम डडेल्धुरा आउँदै छन्।
न्याैपाने पछिल्लो समय डडेल्धुरामा विवादित थिए। उनले यहाँका स्थानीय तह र सरकारी कार्यालयबाट आर्थिक संकलन गरेर दुख दिइरहेको गुनासो कर्मचारीको थियो।
डडेल्धुरामा सीडीओले सुदूरपश्चिमकि सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको नाममा आर्थिक संकलन गरेको आरोप लागेको थियो।
तर, राज्यमन्त्री खड्काले आफूले त्यस्तो नगराएको प्रष्टिकरण दिएकी थिइन्। भने सीडीओ न्याैपानेले पत्रकारलाई पक्राउ गर्ने योजना बनाउनुका साथै समाचार हटाउन उर्दी जारी गरेका थिए।
डडेल्धुरामा उनी विवादित बनेपछि गृहमन्त्रालयले उनको सरुवा गर्ने तयारी गरेपछि मन्त्रालयका सचिव र मन्त्रीलाई खुसी पार्न उनी काठमाडौं पुगेमा थिए।
र, उनको सरुवा रोकिएको थियो। तर, सहसचिवलाई गृहको बरन्डामा थन्क्याएर उपसचिवलाई सीडीओ बनाएको भन्दै चर्को आलोचना भइरहेको थियो।
उनीसँग कार्यालय भित्रकै कर्मचारी समेत असन्तुष्ट थिए। सुशासन, जवाफदेहिता र पारदर्शिताको अनुभूति दिलाउने सीडीओ नै गैर जिम्मेवार बनेको भन्दै उनी प्रति जनविश्वास घट्दै गएको थियो।

जिल्लामा हुने सार्वजनिक कार्यक्रममा समेत उनी आउनै छोडेर प्रतिनिधि पठाउँथे भने आएपनि धैरै नबसेर हिँड्ने गरेका थिए।
जिल्लामा बृहत् सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भनेका सीडीओ न्याैपाने विवादमा आएपछि कार्यक्रम नै गर्न डराएका थिए।
अनिश्चित समयका लागि स्थगन गरिएको सार्वजनिक सुनुवाइ उनले पाँच महिनासम्म गर्न सकेनन्।
निकै लामो तयारीसँगै उनको सरुवा गर्न साता दिन अघि नै सूची बनिसकेको भए पनि उनले पावर लगाएकाे कारण सूची स्वीकृत गर्न ढिलाइ भइरहेको थियो तर अन्तत: मन्त्री रमेश लेखकले मंगलवार सदर गरेका छन्।
व्यापक सीडीओ हेरफेर
गृहमन्त्रालयले व्यापक रूपमा सीडीओ हेरफेर गरेको हो।
सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरूलाई हटाएर ती पदमा सहसचिवहरूलाई नियुक्त गरिएको छ।
साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ। प्राप्त विवरण अनुसार अनुसार गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ।
मन्त्रालयको अतिरिक्त(बरन्डा)मा रहेका सहसचिवहरूलाई पनि जिम्मेवारी तोकिएको छ।
र, यो पनि :
डडेल्धुरामा सीडीओ न्याैपानेमाथि असुलीको आरोप, राज्यमन्त्री खड्कासँग कनेक्सन !
