डडेल्धुराका राउटे समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण

dream cafe
learnar

डडेल्धुरा : लोपोन्मुख राउटे समुदायका बालबालिकालाई शैक्षिक प्रोत्साहनका लागि झोला, विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ।

डडेल्धुराको परशुराम नगरपालिका–१२ स्थित बीपी प्राथमिक विद्यालयका ४५ र परशुराम–४, रज्यौडास्थित समैजी आधारभूत विद्यालयका ५३ जना गरी जम्मा ९८ जना राउटे विद्यार्थीलाई सामग्री वितरण गरिएको हो।

GBL NEW

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयमार्फत सामाजिक विकास कार्यालय डडेल्धुराले उक्त सामग्री वितरण गरेको हो।

शुक्रबार आयोजित कार्यक्रममा मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेकी हुन्।

राज्यमन्त्री खड्काले सरकार ‘आवाजविहीन र विपन्न वर्गको अभिभावक’ भएको उल्लेख गर्दै, राउटे समुदायको संरक्षण, सहयोग र हौसलाका लागि तीनै तहका सरकारको भूमिकाको आवश्यकता रहेको बताइन्।

“सरकारको कर्तव्य भनेको गरिब, निमुखा र पछाडि परेका वर्गलाई अगाडि ल्याउनु हो,” राज्यमन्त्री खड्काले भनिन्।

सामग्री वितरणका क्रममा सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीले राउटे समुदायका बालबालिका विशेष संरक्षण र आर्थिक पहुँचको अभावमा रहेका कारण पढाइमा उनीहरूको रुचि घट्दो रहेको उल्लेख गर्दै शैक्षिक सामग्री सहयोगले उनीहरूलाई शिक्षातर्फ अभिप्रेरित गर्ने अपेक्षा व्यक्त गरे।

परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले विद्यालयमै पुगेर सामग्री वितरण गरिएकामा खुसी व्यक्त गर्दै मन्त्रालय र कार्यालयलाई धन्यवाद दिएका छन्।

उनले रज्यौडास्थित करिब ४५ घरधुरीमा राउटेहरूको स्थायी बसोबास भएको जानकारी दिँदै, “जंगलमा बस्दै आएका राउटे समुदाय अहिले स्थायी बसोबाससहित कृषि कर्ममा समेत आबद्ध हुन थालेका छन्,” भने।

नगरपालिकाले विपन्न, महिलावर्ग र राउटे बालबालिकाको प्रोत्साहनका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख जोशीले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.