कृषि समूह बनाएर तरकारी खेती

डडेल्धुरा : केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई अजयमेरु गाउँपालिका–४ का अगुवा कृषक जोगराज महताले प्रमाणित गरेका छन्।

जोगराजको परिवारमा बुवाबाजेले सामान्य तरकारी खेती गर्थे। बिक्रि बितरणभन्दा पनि तरकारी घर परिवारमा खान ठिक्क हुन्थ्यो। थोरै लगाएको तरकारी धेरै फल्ने गरेका कारण उनको परिवारले छिमेकीलाई समेत तरकारी दिने गर्थे।

थोरै तरकारी लगाएर पनि धेरै फल्छ। परिवार र छिमेकीलाई पनि हुन्छ। अल्लि धेरै लगाएर मेहनत गरे त बिक्रि गरेर राम्रो आम्दानी गर्न सकिन्छ होला भन्ने उनलाई लाग्यो। र, उनले व्यवसायीक तरकारी खेती गर्ने योजना बुने।

उनको योजनामा सहयात्री बन्यो, अजयमेरु गाउँपालिकाको कृषि शाखा। कृषि शाखाकै सहयोगमा उनले गाउँका अन्य ३० जना सक्रिय कृषकलाई मिलाएर ‘जगन्नाथ ताजा तरकारी उत्पादन कृषक समूह’ निर्माण गरे।

अहिले समुहमा लागेका ३० जना कृषक व्यवसायीक तरकारी खेतीमा लागेर मनग्य आमदानी गरिरहेकोे बताउँछन्, उनी। ‘मातृभूमिको माटोसँग एकदम लगाव छ र गर्न सके आम्दानीको भण्डार हो नेपाली माटो,’ जोगराज भन्छन्।

उहाँका अनुसार यहाँका प्रति कृषकले बार्षिक ३÷४ लाख कमाइरहेका छन्। कृषक समूहकी सदस्य गिता पालले विगतमा आफूहरू बेरोजगार बनेर घरमै बस्दैआएकामा हाल तरकारी उब्जाएर पैसा कमाउन थालेको बताइन्।

समूहको तरकारी खेतीबाट आम्दानी गरेर आफ्नो घर व्यवहार चलाएर छोराछारीको पढाइ खर्चसमेत निकाल्ने गरेको उनले बताइन्।

उनले भनिन्, ‘त्यत्तिक्कै बस्नुभन्दा मेहनत गरेर खाने सोचका साथ तरकारी खेती गर्न थालेका हौँ, तरकारी खेती गरेरै घरखर्च चलाउनुका साथै केही पैसा बचतसमेत गर्दैआएका छौँ।’

समूहकै सदस्य नरेश बिष्टले व्यक्तिगत जग्गामा अहिले साग, प्याज, बोडी, खुर्सानी, मुला, फर्सीलगायत तरकारी उत्पादन गर्न थालेका छन्। ‘समूहमा पालीकाबाट बिउ, मल लगाएतका अन्य सामग्रीको सहयोग हुँदै आएको छ। जस कारण हामीलाई सहज भएको छ,’ उहाँले भने।

समूहमा आवद्ध हुनुभन्दा अगाडी व्यवसायिकरणको राम्रो ज्ञन नभएका कारण सबै कृषकहरु निर्वाहमुखी खेतीमा व्यस्त थिए।

Alital

समूह गठन गर्दा बिभिन्न किसिमका आर्थिक तथा सामाजिक कुरामा फाइदा हुने देखिएपछि यहाँका महिला तथा पुरुष कृषकले समूह गठन गरी व्यावसायिक तरकारी खेति सुरु गरेको अजयेमरु गाउँपालिका कृषि शाखाका प्राविधिक सन्तोष सावद बताउँछन्।

उनी भन्छन्, ‘समूहबाट काम गर्दा बिभिन्न किसिम अनुदान, तालिम, योजना पुरुस्कार पाउँदा कृषकहरू निकै उत्प्रेरित भएका छन्।’

चैते धानको सफल परिक्षण
अजयमेरु गाउँपालिकाका अधिकांश वस्तिमा पानीको समस्या छ। पानीको कमीका कारण बसन्त ऋतुमा अधिकांश खेत बारी बाँझो रहने समस्या छ, यहाँ।

जमिन बाँझो रहन थालेपछि अजयमेरु गाउँपालिकाले ‘जगन्नाथ ताजा तरकारी उत्पादन कृषक समूह’सँग गाउँपालिका अन्तर्गत कृषिशाखाको आर्थिक वर्ष २०८०/०८१को स्वीकृत कार्यक्रम अनुसार चैते धान प्रदर्शनी कार्यक्रम संचालन गर्यो।

कृषि प्रसार अधिकृत तारा सिंहका अनुसार चैते धान सम्बन्धि पालिकाले बिभिन्न पम्प्लेट, बूक्लेट समूहमा वितरण गरी कृषक समूहमा जानकारी गरायो।

‘कृषि शाखाको सहयोगमा चैते धान सम्बन्धि समूहमा स्थलगत तालिम दियौं। निश्चित अवधिको दौरान समूहले तालिम पाए र कृषि सम्वन्धि ज्ञान हाँसिल गरे,’ उनले भने, ‘त्यस पश्चात कृषि शाखाले बीउ उपलब्ध गराई ५ रोपनीमा चैते धान खेती गरियो।’

प्रदर्शनी कार्यक्रम भएका कारण थोरै क्षेत्रमा चैते धानको परिक्षण गर्यो। ‘चैते धान उत्पादन कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले वडा नम्बर ४ को हुराका किसानलाई चैते धान परीक्षण खेती गर्ने सिकाएको थियो। तर, नतिजा राम्रो देखियो।

चैते धानको राम्रो उत्पादन भएकोले आगामी आर्थिक वर्षबाट चैते धानको उत्पादन क्षेत्र बढाउने गरि कार्यक्रम अगाडी बढाइरहेको कृषि प्रसार अधिकृत सिंह बताउँछन्।

कृषि एम्बुलेन्स सञ्चालन
अजयमेरु गाउँपालिकाका कृषकको समस्यालाई मध्यनजर गर्दै पालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

पालिकाको सबै वडाबाट कृषि तथा पशुजन्य उपज ढुवानी गर्न गत वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

पालिकाका सबै वडाबाट कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको अध्यक्ष भट्टको भनाइ छ।

‘कृषि एम्बुलेन्सबाट स्थानीय किसानले खेतबारीमा उत्पादित कृषि उपजलाई बिक्रीका लागि बजारसम्म पु¥याउँदै छौं। बजारबाट किसानका आवश्यक कृषिजन्य वस्तु ढुवानी समेत गरिरहेका छौं,’ उनले भने।

कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएपछि तरकारीजन्य बस्तु ढुवानी गर्न थालेसंगै खुसी छन्, कृषक लक्ष्मी पनेरु। कृषि एम्बुलेन्समार्फत किसानका उत्पादन बस्तु बजारसम्म पुग्ने र उपभोक्ताले सुपथ मूल्यमा पाएपछि सहज भएको उनी बताउँछन्।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.