सांसद जोशीको अग्रसरता, पोखराको जीर्ण पोखरी बहुउपयोगी बनाउन पुनर्निर्माण बजेट

डडेल्धुरा : विस २०२९ मा निर्मित सुदूरपश्चिमको सबैभन्दा बढी करिब २० लाख लिटर क्षमताको सिँचाइ पोखरी फुटेपछि जीर्ण बनेको १५ वर्ष भयो तर मर्मत गर्ने कुनै सुरसार भएन ।

सङ्घीयतापछि बल्ल थोरै भए पनि बजेट विनियोजन भएपछि यसलाई बहुउपयोगी बनाउने सोच अगाडि सारिएको छ ।

अमरगढी नगरपालिका–७ का करिब एक दर्जन गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी खासै कहिल्यै पनि प्रयोगमा आएन ।

सुरुमा पोखरी निर्माण भए पनि उद्देश्य अनुसार गाउँगाउँमा योजना विस्तार नै हुन सकेन । उद्देश्य अनुसार रित्तो रहँदा जीर्ण भएको पोखरी पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रुपियाँमा टेन्डर भयो । २०६६ साल असोजमा भएको अविरल वर्षापछि पोखरीमा दरार भई फुट्यो ।

त्यसयता जीर्ण बनेको पोखरी निर्माणका लागि गत वर्ष पाँच लाख रकम बजेट थियो तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुङ्गो नलाग्दा रकम फिर्ता भयो ।

तर, यश वर्ष भने सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जाेशीको अग्रसरतामा जीर्ण पोखरी बहुउपयोगी बनाउन पुनर्निर्माण बजेट आएको छ ।

चालु आर्थिक वर्षमा भने सुदूरपश्चिम प्रदेशबाट ३० लाख रुपियाँ विनियोजन भएको प्रदेश सभा सदस्य जोशीले जानकारी दिए ।

Alital

बहुउपयोगी पोखरी निर्माण गर्न करिब एक करोड रुपियाँ आवश्यक पर्ने भए पनि पहिलो चरणमा ३० लाख मात्रै विनियोजन भएको उनले बताए ।

सिँचाइ मात्रै नभई अब यो पोखरीलाई माछापालन, स्विमिङ र खानेपानी गरेर बहुउपयोगी तौरतरिकाबाट निर्माण गर्नुपर्ने उनले बताए ।

तीनतले पोखरी निर्माण गरेर स्थानीय परम्परागत भाँडावर्तनको आकार र त्यसमाथि माछाको आकार बनाई खानेपानी ट्याङ्की बनाउन प्राविधिकसँग समन्वय भएको उनले बताए ।

सबैभन्दा माथि खानेपानी, दोस्रो भागमा पौडी र सबैभन्दा मुनिको ट्याङ्कीमा सिँचाइ र माछापालन गर्न सकिने गरेर पोखरीको निर्माण गरिने उहाँको भनाइ छ ।

बहुउपयोगी तरिकाको पोखरी बनाउन सके आकर्षणको केन्द्रविन्दुसमेत हुन सक्ने उहाँले बताउनुभयो । यसअघि पनि २०६१ सालपछि पोखरीमा माछापालनसँगै पौडी खेल्न ‘कस्टम’ राखेर शुल्क लिने गरिएको थियो भने छेउमा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको स्थानीय गणेश साँकीले बताए ।

बहुउपयोगी पोखरी निर्माण गर्न सके यस क्षेत्रको व्यवसायमा ठुलो टेवा पुग्ने उहाँको विश्वास छ । पोखरीको हालको लम्बाइ ३१.४ मिटर, चौडाइ २४.६ मिटर र उचाइ २.३५ मिटर छ ।

यो पोखरी डडेलधुरा–बैतडी जोड्ने मुख्य महाकाली राजमार्गसँगै जोडिएको भएकाले अब सडकको मापदण्ड अनुसार १५ मिटर छोड्नुपर्ने छ ।

अब निर्माण गर्दा वर्गाकारको हुने डिजाइन स्टिमेट गरिरहेका इन्जिनियर श्यामकुमार बाडेले बताए। उनका अनुसार अब २४.५ मिटर वर्गाकार र उचाइ पुरानै कायम गर्न सकिन्छ । अब यसको क्षमता करिब १४ लाख लिटरको हुने छ ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.