हिक्मत सिंह
डडेल्धुरा, सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद परित्याग गर्नुभएको छ । बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलन मार्फत मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गर्नुभएको हो ।
पार्टी सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफुमाथी अन्याय गर्दै गएको बताउदै उहाँले नेपाली काग्रेसबाट समेत कारवाही गरिएकाले नैतिकताका आधारमा राजीनामा गरेको बताउनुभयो । मल्ल डडेलधुरा जिल्लाको प्रदेश क्षेत्र ख नेपाली काग्रेसबाट प्रदेश सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ ।
केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरि उहाँलाई कारबाही गरेको थियो । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उहाँले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाउनु भएको हो । पार्टीको आन्तरीक विवाद चुलिदै गएपछि र केन्द्रिय सभापतिबाट नै एक्ल्याउने प्रयास गरिएपछि आफु निकट नेताहरुलाई विपि काग्रेसबाट आसन्न निर्वाचनमा उमेदवार बनाएको मल्लले प्रष्ट पार्नुभयो ।
उहाँले देउवा निरंकुश र तानाशाह बनेको आरोप लगाउदै दम्भले गर्दा डडेलधुरामा काग्रेसको अवस्था २०७४ को भन्दा कमजोर हुने दावि गर्नुभयो । ईमान्दार कार्यकर्तालाई लत्याएर अवसरवादी र चाप्लुसी गर्ने निकट राखेर गरिएको राजनिति देउवाकै लागी घातक हुने उहाँले बताउनुभयो । पार्टी विधि र विधान विपरीत आफुमाथी गरिएको कारवाही औचित्यहिन रहेको मल्लको भनाई छ । स्थानिय तहको निर्वाचनका लागी मल्ल समूहले नेकपा एमालेसँग गठबन्धन गरि चुनावी तालमेलमा जुटेको छ । उहाँसँगै कांग्रेसको एक समूहले कांग्रेस परित्यागको घोषणा गर्ने तयारी गरिरहेको नेपाली काग्रेसका पुर्व जिल्ला समिति सचिव लोकराज भट्टले बताउनुभयो ।
पार्टीलाई प्राली बनाएको आरोप लगाउदै काग्रेस नेता हरी प्रसाद भट्ट भन्नुहुन्छ, हामी स्थानिय तहको चुनावमा सस्थापन काग्रेस भन्दा बलियो भएर प्रस्तुत हुन्छौ । हामीले काग्रेस छाडेको होईनौ, काग्रेसबाट अन्याय भएपछि विद्रोह गरेका हौ, भट्टले भन्नुभयो । उहाँ आसन्न निर्वाचनमा नेपाली काग्रेस विपिको तर्फबाट अमरगढी नगरपालिकामा नगरप्रमुखका लागी उमेदवार बन्नुभएको छ ।