बोहरा मेडिको सेन्टर

संसदभन्दा अमेरिका रोज्दा गयो प्रकाश देउवाको सांसद पद

dream cafe
learnar

डडेल्धुरा : करिब ११ महिनादेखि अमेरिकामा रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले अन्ततः आफ्नो सांसद पद गुमाएका छन्।

व्यक्तिगत कामका लागि अमेरिका पुगेका देउवा लामो समयसम्म नेपाल नफर्किएपछि प्रदेशसभा बैठकमा उनको उपस्थिति शून्यजस्तै बनेको थियो।

CNA

लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित भएपछि संविधानले गरेको व्यवस्थाअनुसार प्रदेशसभा सचिवालयले उनको पद रिक्तसम्बन्धी टिप्पणी आदेश तयार गरेको थियो।

उक्त टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका हुन्।

सभामुखले यसबारे प्रदेशसभाको आगामी बैठकमा औपचारिक जानकारी गराउने तयारी छ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए।

त्यसपछि स्वास्थ्य समस्या देखिएको भन्दै उनी अमेरिकामै उपचार तथा विश्राममा बसेका थिए।

अमेरिका गएको ११ महिना पुगिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।

छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले प्रदेशसभा सचिवालयलाई पत्र पठाएर आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी दिएका थिए।

GBL NEW

स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले जनाएका थिए।

तर, उक्त पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी नेपाल फर्किएनन्।

त्यसबीच प्रदेशसभाका सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनको उपस्थिति रहेन।

प्रदेशसभा सचिवालयको अभिलेखअनुसार पछिल्ला २७ वटा बैठकमा देउवा लगातार अनुपस्थित थिए।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेकोमा उनी ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन्।

नेपालको संविधानको धारा १८०(घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भए प्रदेशसभा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ।

यही संवैधानिक व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो।

शेरबहादुर देउवाका भतिजासमेत रहेका प्रकाशबहादुर देउवा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका देउवा लामो समय प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि उनको संसदीय भूमिकामाथि प्रश्न उठ्दै आएको थियो।

अन्ततः संसदमा निरन्तर अनुपस्थितिको संवैधानिक सीमाले उनको सांसद पद नै समाप्त गरिदिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.