
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. ५२ गुल्म डडेल्धुराका अनुसार शनिबार बिहान करिब ३:३० बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३००–४०० मिटर तल खसेको हो।


दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय शुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याल को घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक बैतडीको डिलाशैनी गाउँपालिका–२ का २० वर्षीय अमृत घरेडी, दार्चुलाको मार्मा गाउँपालिका–३ का ५० वर्षीय अम्मर सिंह ठगुन्ना तथा अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल घाइते भएका छन्।
घाइतेमध्ये चालक घरेडीलाई सामान्य चोट लागेको छ भने ठगुन्ना र लोथ्यालको टाउको, छाती तथा शरीरका अन्य भागमा मध्यम चोट लागेको जनाइएको छ।
घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

