
डडेल्धुरा : गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले पदबहाली गरेका छन्।
असार १८ गतेको मन्त्रीपरिषद बैठकबाट संस्थान महाप्रबन्धकमा नियुक्त भएका उनी संस्थान कार्यालयमा सोमबार पदबहाली गरेेका हुन्।

सो अवसरमा महाप्रबन्धक रावलले गोरखापत्र नेपाली पत्रकारिताको गौरव र इतिहास भएकाले यसको विश्वसनीयतालाई थप गर्विलो पार्नेगरी आफूले काम गर्ने प्रतिबद्धता जनाए।
“गोरखापत्र संस्थानलाई सुदृढ बनाउनेगरी स्पष्ट योजना र म्यान्डेटसाथ आएको छु, ऐन नियमको परिधिभित्र रहेर यसलाई थप आत्मनिर्भर बनाउनेगरी काम गर्नेछु” उनले भने।
हिजो भएका कामको समीक्षा गरी गोरखापत्र संस्थानको डिजिटल र आर्थिक रुपान्तरणमा केन्द्रित रहेर काम गर्नुपर्नेछ।
तपाई पत्रकार, कर्मचारी सबैको साथ र सहयोग लिएर यसको उन्नयनमा लाग्नेछु, उनले थपे, “सबैजना मिलेर यस संस्थानलाई अझ गर्विलो बनाउने छौं। जहाँ समस्या छ, त्यहीँबाट समाधान खोज्नेछौं।”
गोरखापत्र परम्परागत रुपमा चलेको चर्चा गर्दै उनले नयाँ सोच र शैलीसाथ यसको रुपान्तरणको खाँचो रहेको बताए।

सरकारको स्पिरिट पनि देशको रुपान्तरण गर्ने भएकाले सोही स्पिरिट साथ काम गर्ने उनको भनाइ छ।
“संस्थान सुधार गर्ने छुट सबैलाई छ, तर बिगार्ने छुट कसैलाई छैन” भन्नुहुँदै महाप्रबन्धक रावलले भने, “उत्साहित भएर पारदर्शी ढङ्गले काम गरौं, संस्थानको रुपान्तरण हुन्छ। यसलाई बनाउने तपाई हामीले नै हो।”
गोरखापत्र संस्थानमा काम गर्ने पत्रकार तथा कर्मचारीको सोच शैली र प्रकाशन कन्टेन्ट्समा सुधार नगरेसम्म अन्य सुधार हुन नसक्ने महाप्रबन्धक रावलले भने।
संस्थानलाई राम्रो कसरी बनाउने विषयमा आफूलाई सुझाव दिन कर्मचारीहरुलाई आग्रह गर्दै उनले व्यक्तिगत काम र गन्थनमन्थन लिएर नआउन आग्रह गरे।
गोरखापत्रको कामलाई डिजिटल रुपान्तरण गर्नेगरी आफूले काम गर्ने उनले प्रष्ट पारे।
आफूलाई विश्वास गरी चार वर्षका लागि संस्थानको महाप्रबन्धकको जिम्मेवारी सुम्पिएकोमा सरकारलाई उनले धन्यवाद व्यक्त गरे।
गन्यापधुरा गाउँपालिका –२, डडेल्धुरामा २०३६ भदौ १० गते जन्मनुभएका रावल पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर हुन्।
करिब २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका महाप्रबन्धक रावल पछिल्लो समय बिबिसी नेपाली सेवा सुदूरपश्चिममा कार्यरत रहेेका थिए।

