
डडेल्धुरा : भागेश्वर गाउँपालिकाले युवामा अनुशासन, संस्कार र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले आयोजना गरेको ६ दिने आवासीय युवा संस्कार तथा योग विज्ञान शिविर सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजना तथा वडा नं. २ स्थित अशिग्राम माध्यमिक विद्यालय, रुपालमा असार १२ गतेदेखि सञ्चालन भएको शिविर असार १७ गते समापन गरिएको हो।
शिविरमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा युवासहित करिब ७० जनाको सहभागिता रहेको थियो।
पतञ्जलि योगपीठ नेपाल युवा नेपालकी प्रमुख साध्वी डा. देवबिजयाको प्रमुख प्रशिक्षणमा सञ्चालन भएको शिविरमा योग शिक्षक गोविन्द खडायत, कैलाशकुमार पाण्डेय, नवराज खत्री र सुमन पाल ओलीले सहजीकरण गरेका थिए।


शिविरमा योग अभ्याससँगै संस्कार, सकारात्मक सोच, व्यक्तित्व विकास, अनुशासन, नैतिक शिक्षा र स्वस्थ जीवनशैलीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। सहभागीहरूले शिविरले शारीरिक तथा मानसिक रूपमा आफूहरूमा सकारात्मक परिवर्तन ल्याएको प्रतिक्रिया दिएका छन्।
शिविरको दैनिक तालिका अनुसार बिहान ५ बजेदेखि खुला योग अभ्यास, वैदिक यज्ञ तथा शारीरिक अभ्यास सञ्चालन गरिन्थ्यो। त्यसपछि बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बौद्धिक कक्षा तथा साँझ ४ बजेदेखि ६ बजेसम्म पुनः शारीरिक अभ्यास गराइएको थियो।
शिविरको उद्घाटन गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीको सभापतित्वमा भएको थियो भने समापन कार्यक्रम गाउँपालिका अध्यक्ष हेमराज चटौतको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रमुख प्रशिक्षक साध्वी डा. देवबिजयाले शिविरमा सहभागी सबैलाई योग शिक्षकका रूपमा दीक्षित गरिएको बताउँदै अब उनीहरू आफ्ना विद्यालयमा नियमित योग कक्षा सञ्चालन गर्न सक्षम भएको जानकारी दिइन्।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठी, वडा नं. २ का अध्यक्ष उपेन्द्रबहादुर जोरा, प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझालगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो।
अशिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद पाण्डेयले शिविर अत्यन्त उपलब्धिमूलक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम गाउँपालिकाका सबै विद्यालयमा सञ्चालन गर्न सके विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासमा थप सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

