
डडेल्धुरा : बदलिँदो प्रविधिसँगै पत्रकारिताको अभ्यास पनि तीव्र रूपमा परिवर्तन भइरहेका बेला डडेल्धुराका पत्रकारलाई आधुनिक मिडियाका नयाँ प्रवृत्तिबारे अभिमुखीकरण गरिएको छ।
पत्रकारितालाई विश्वसनीय, सुरक्षित र प्रविधिमैत्री बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सुरक्षा, फ्याक्ट चेकिङ, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग तथा मल्टिमिडिया सामग्री उत्पादनका विषयमा पत्रकारलाई प्रशिक्षण दिइएको हो।

पश्चिम नेपाल मिडिया अभियान डडेल्धुराको आयोजना तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा शनिबार आयोजित ‘मिडियामा नवीनतम् प्रवृत्तिको प्रयोग’ विषयक अभिमुखीकरण कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका कोषाध्यक्ष बरुण पनेरूले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता, डेटा र डिजिटल प्लेटफर्मको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै समयअनुसार आफूलाई अद्यावधिक गर्न नसक्ने सञ्चारमाध्यम र पत्रकार प्रतिस्पर्धामा पछाडि पर्ने बताए।
प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले सामाजिक सञ्जालमा मिथ्या सूचना र भ्रामक सामग्रीको जोखिम बढ्दै गएको भन्दै पत्रकारहरूले तथ्यमा आधारित, जिम्मेवार र नैतिक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले साइबर सुरक्षा र एआईको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान आजको आवश्यकता बनेको बताए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले प्रविधिको विकाससँगै सञ्चारमाध्यमले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए।
नयाँ प्रविधिलाई जनउत्तरदायी पत्रकारिताको माध्यम बनाउन सके मात्र मिडियाप्रतिको विश्वास अझ मजबुत हुने उनको भनाइ थियो।
पश्चिम नेपाल मिडिया अभियान डडेल्धुराका अध्यक्ष उत्तरसिंह विष्टले पत्रकारलाई आधुनिक सञ्चार प्रविधि र पत्रकारिताका नयाँ अभ्याससँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले डिजिटल युगमा पत्रकारले आफ्नो सीप, प्रस्तुति र सामग्री उत्पादन शैलीलाई निरन्तर परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागी पत्रकारहरूले एआई, डिजिटल सुरक्षा र फ्याक्ट चेकिङका विषयमा व्यावहारिक जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। स्थानीय पत्रकारको क्षमता अभिवृद्धि गर्दै बदलिँदो मिडिया वातावरणसँग अनुकूल बनाउने उद्देश्यले कार्यक्रम फलदायी भएको आयोजकको विश्वास छ।


